- बागमती प्रदेशका युनिटहरूबाट काठमाडौंमा प्रहरी झिकाइयो
- आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आइजी दीपक थापाको निर्देशन
- दुर्गा प्रसाईं खोज्न तीन युनिट परिचालन
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरिएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाइएको हो । अर्को नयाँ टोली ज्ञानेन्द्रको सुरक्षार्थ परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ टोली सशस्त्रका डिएसपी प्रमोद पाठकको नेतृत्वमा परिचालन गरिएको छ ।
भिभिआइपी सुरक्षा कार्यविधिअनुसार ज्ञानेन्द्रले सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउने गरेका छन् । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मुख्य जिम्मेवार ठहर गर्दै उनीमाथि कारबाही तयारी अगाडि बढाइएको छ । सरकारले उनको राहदानी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको स्रोतले बताएको छ ।
काठमाडौंमा बोलाइयो थप प्रहरी
तीनकुने हिंसापछि नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्न र जनताको जीउधनको सुरक्षा गर्नु नेपाल प्रहरी प्रतिबद्ध भएको बताएका छन् । उनले शनिबार प्रहरी प्रधान कार्यालयबाट ‘भर्चुअल’ माध्यमबाट प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवं प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनसमेत उनको निर्देशन छ । यस्तै, आन्दोलन थप हिंसात्मक हुन सक्ने सुरक्षा विश्लेषण गरेर प्रहरी प्रधान कार्यालयले उपत्यका बाहिरबाट थप फौज मगाएको छ । बागमती प्रदेशमा रहेका प्रहरी युनिटहरूबाट ठूलो संख्यामा प्रहरीलाई काठमाडौं झिकाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, व्यवस्था उल्टाउने भन्दै ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर प्रसाईंको खोजी कार्य प्रहरीले तीव्र पारेको छ ।राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शुक्रबार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रमस्थलबाट भागेका थिए । प्रहरीले तीनकुनेको मञ्चमा अश्रुग्यास प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईं स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको पाइएको प्रहरीले जनाएको छ ।
उनको खोजीमा प्रहरीका तीन युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका हुन् । अनुसन्धान अधिकारीहरूले प्रसाईं चक्रपथ हुँदै ललितपुरतर्फ लागेको थाहा भएको जनाएका छन् । उनी ललितपुरमा लुकेको आशंका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले गरेका छन् ।