राजसंस्थाको इतिहास नै हिंसाको हो । सत्ता स्वार्थका लागि विगतमा राजदरबार हिंसाको केन्द्र बन्यो । मारकाट चल्यो । षड्यन्त्रको थलो बन्यो । यी आधारले हिंसाको विम्ब राजसंस्था थियो । २५० वर्षसम्म राजसंस्थाले जनतालाई रैती बनायो । नागरिकको हैसियत दिएन । पूरै अँध्यारोमा राख्यो । शाह वंशले शासन चलायो र राज्यको ढुकुटीमा मोजमस्ती गरे । सीमित आसेपासेले पनि त्यसबेला फाइदा लिए । गणतन्त्र स्थापनापछि त्यो क्रम टुट्यो ।
ज्ञानेन्द्र शाह झण्डै १७ वर्षदेखि नागार्जुनमा छन् । उनकै निर्देशकीय भूमिका र महाउग्र दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार हिंसात्मक आन्दोलन भयो । काठमाडौंको तीनकुने, कोटेश्वर, जडीबुटी, शान्तिनगर, बालकुमारी पुललगायत क्षेत्र रणमैदानमा परिणत गराए । शान्तिपूर्ण कार्यक्रम गरेर आफ्ना एजेण्डा जनताकहाँ लान सकिन्छ । लोकतन्त्रमा यो उत्तम विकल्प पनि हो । जनताबाट एजेण्डा अनुमोदन गरेर दुईतिहाइ बहुमतको जगमा व्यवस्था परिवर्तन गर्न सकिन्छ । तर, त्यो बाटो राजसंस्थापक्षधरले हिँड्न चाहेनन् । हिंसात्मक आन्दोलन चाहे । अर्थात् हिंसाको विरासत जोडिएको राजसंस्था पुनःस्थापनाका लागि हिंसाकै बाटो रोजियो । यो समर्थन अयोग्य हो ।
हिंसात्मक प्रदर्शनकैबीच उनीहरूले घरमा आगो लगाउँदा निहत्था पत्रकार सुरेश रजाक मारिए । राजसंस्था पक्षधर २९ वर्षे लक्का जवान सविन महर्जनको मृत्यु भयो । दर्जनौं संख्यामा सुरक्षाकर्मी र आन्दोलनकर्मी घाइते भए । गृह प्रशासनका अनुसार केहीको अवस्था गम्भीर छ । आन्दोलनलाई हिंसात्मक बनाउने भूमिकामा मुख्य पात्र दुर्गा प्रसाईं हुन् । गाडी हुइँक्याउँदै ‘आओ आओ’ भन्दै भीडलाई उत्तेजित गर्ने काम उनीबाट भयो । त्यसरी अघि बढ्ने क्रममा सुरक्षाकर्मीलाई पेल्दै निषेधित क्षेत्र तोड्ने हर्कत गरे । यदि, आन्दोलनका कमाण्डर भनिएका प्रसाईंले भीडलाई उत्तेजित नपारेको भए सम्भवतः त्यो तहको हिंसा नहुने आँकलन गर्न सकिन्छ ।
प्रसाईंलाई पृष्ठभूमिमा बसेर हौस्याउनेचाहिँ फेरि राजा हुन तम्सिएका ज्ञानेन्द्र हुन् । ज्ञानेन्द्रसँग उनको बिहीबार भेट भएको थियो । त्यसपछि आन्दोलनको कमाण्डर तोकिए । उनै प्रसाईंको नेतृत्वमा निस्केको जुलुस सुरुमै उग्र देखियो । तीनकुनेस्थित निजी घरमा आगजनी ग¥यो । त्यही घरमा पत्रकार सुरेशको ज्यान गएको हो । व्यावसायिक भवनहरूमा तोडफोड गरे । निजी सम्पत्ति निसानामा परे । निजी तथा सार्वजनिक सवारीसाधन जलाइए । कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट र तोडफोड, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनीलगायत आतंक मच्चाइयो । यी घटनाले पृष्ठभूमिमा ज्ञानेन्द्र बसेर प्रसाईंको नेतृत्वमा हिंसा भड्काउने काम भयो ।
अब ज्ञानेन्द्र र प्रसाईंविरुद्ध कानुनी लगाम आवश्यक छ । गणतन्त्रमा स्वतन्त्रताको उपभोग अराजकताका लागि होइन भन्ने सबकबोध सरकराले गराउनुपर्छ । ज्ञानेन्द्रलाई नागरिक हैसियतको सीमा नाघ्न दिनु हुँदैन । हिंसाको प्रतीक राज संस्थाको बाटो हिंसाकै बाटोबाट सतप्रतिशत असम्भव छ । र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्रबाहेक हुन सक्दैन । पाँचौं गणतन्त्र फ्रान्समा जस्तो कुनै बेला बेइमान शासकका कारण ढलेको राजतन्त्र फेरि पुनःस्थापित भएको इतिहास नेपालीजनले दोहो¥याउँदैनन् ।