काठमाडाैं - कञ्चनजङ्घा हिमालमा आरोहण गर्न सुरू गरेकाे ७०औं वर्ष पुग्दै छ। कञ्चनजङ्घा हिमालमा सफल आरोहण भएको ७०औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरू गरिने काठमाडाैंकाे नेपाल पर्वताराेहण संघमा आइतबार पत्रकार सम्मेलन गरी जनाइएकाे हाे ।
कञ्चनजङ्घा हिमालको ७०औं आरोहण दिवसको अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्र, नेपाल पर्वतारोहण संघ र समृद्ध पहाडको संयुक्त आयोजनामा विशेष कार्यक्रम हुने भएको छ।
कञ्चनजङ्घा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर (८,५८६ मिटर) हो । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए भने पहिलाे नेपाली पुरूष आङ फुर्वा शेर्पा र महिलामा निमा जाङमु शेर्पाले आरोहण गरेका थिए ।
नेपाल पर्वतारोहण संघमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाहरूले कञ्चनजङ्घा हिमालको आरोहण, पर्यटन विकास, पर्यावरणीय संरक्षण तथा स्थानीय समुदायको संस्कृति प्रवर्द्धनमा जोड दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए।
संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले भने ,' सगरमाथा, ल्होत्से लगायतका हिमालहरू १ नम्बर प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाल प्रवर्द्धन गर्नुपर्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र र समृद्ध पहाडको अवधारणालाई अघि बढाउन आवश्यक छ।'
आगामी अप्रिल १८ र २० मा ताप्लेजुङको लेलेप, अप्रिल २४ मा काठमाडौंको अलफ्ट होटलमा कार्यक्रम गरिने समृद्ध पहाडका प्रमुअ कार्यकारी अधिकृत संजीव न्यौपानेले बताए । कार्यक्रममार्फत पर्वतारोहण इतिहासमा योगदान पुर्याउने पर्वतारोही, शेर्पा गाइड, अनुसन्धानकर्ता तथा पर्वतारोहणसम्बन्धी व्यक्तित्वहरूको सम्मान गरिनेछ। उनका अनुसार कञ्चनजङ्घा क्षेत्रलाई सुरक्षित, दिगो र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिनेछ।
हिमालयन इकोसिस्टम संरक्षण तथा जलवायु परिवर्तनको प्रभावबारे पनि छलफल हुने न्यौपानेले जानकारी दिए। उनका अनुसार विशेष गरी त्यहाँका स्थानियलाइ पनि अान्तरिक पर्यटन र महत्वकाे बारेमा विशेष अभिमुखिकरण दिनका लागि र
शेर्पा, लिम्बु, राईलगायत स्थानीय समुदायको सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्द्धनमा कार्यक्रमको केन्द्रीय भूमिका रहनेछ। नेपाल सरकार, पर्वतारोहण संघहरू तथा स्थानीय सरोकारवालाबीच पर्वतारोहण व्यवस्थापन, सुरक्षा, पर्यावरण मैत्री अभ्यास तथा प्रविधिको प्रयोगसम्बन्धी छलफल गरिनेछ।
न्यौपानेका अनुसार कञ्चनजङ्घा आरोहणको ७०औं वार्षिकोत्सव अप्रिल २४ मा काठमाडौंको अलफ्ट होटलमा ऐतिहासिक भेलासहित मनाइनेछ, जसमा सरकारी अधिकारी, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोही, सञ्चारमाध्यम तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
कार्यक्रममा विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पा तथा लेखक तथा अन्वेषक लेभिसन वुडले ‘हिलारी मेमोरियल लेक्चर’ प्रस्तुत गर्नेछन्। साथै, १९५५ मा पहिलोपटक कञ्चनजङ्घाको शिखर चुम्ने जो ब्राउन र जर्ज ब्यान्डको साहसिक यात्रालाई सम्मान गरिनेछ। कार्यक्रमले कञ्चनजङ्घाको पर्वतारोहण तथा संरक्षणको महत्त्व उजागर गर्दै यसको दिगो भविष्य निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।