सोमबार प्रतिनिधिसभामा रोमाञ्चक दृश्यहरु देखिन्थे । एकातिर राजा चाहियो, अर्कोतिर कुनै हालतमा राजाको कुरा गर्न नै पाइँदैन । ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने व्यंग्यात्मक गीतजस्तै । संसद् दलहरुका लागि झगडा गरेको जस्तो गर्ने थलो बन्दै छ ।
प्रत्यक्ष प्रसारणमा हुञ्जेल कुटुँला जस्तो । बाहिर निस्केपछि छुटुँला जस्तो । गाईजात्रा भनेजस्तै । हुन त संसद् पछिल्लो समयमा यस्तै यस्तै जात्रा गर्ने रंगमञ्चका रुपमा स्थापित हुँदै गएको छ । हो भन्नेले हो भन्नुस् होइन भन्नेले होइन भन्नुस् । कुरा खतम ! तर सधैं त्यत्तिले मात्र कहाँ पुग्थ्यो र संसद्, संसदका रुपमा नै रहन सकेको छैन । एकले अर्कालाई आरोप लगाउने यो अहिलेको मात्र रोग पनि होइन । पुरानै रोग हो ।
मालिक र दासबीचको विभेद अन्त्य गर्नका लागि कानुन बनाउने त्यही ठाउँमा माथिल्ला पदकाले तलकालाई होच्याउने । त्यही भएर होला ‘तँ भन्दा म के कम’ भन्ने खालको भयो । कांग्रेस होस् कि एमाले, माओवादी हुन् या राजावादी, आ–आफ्नै बाजा बजाइरहेका छन् त्यही संसद्मा ।जुम्लाका ज्ञानेन्द्र शाही हुन् कि ताप्लेजुङका योगेश भट्टराई, यो वा त्यो नाममा एउटा न एउटा तानाशाह स्वीकार गर्ने ! ज्ञानेन्द्र शाही राजाको पछि योगेश केपी–ओलीको पछि । स्वाभाविकै हो आ–आफ्नो अभिभावक स्वीकार गरेकै छन् ।
२०५१ सालमा माओवादीले जनयुद्ध भन्दै सरकारी भवन जलाए, ६१ तिर गगनहरुले सरकारी गाडीहरु जलाए । अहिले राजावादीहरुले फेरि उही बाटो अपनाउँदै घर, गाडी जलाए । २० वर्षअघि लोकतन्त्रका लागि आन्दोलन भयो । २० वर्षमा कसले के पाए कसले के गुमाए आफूले आफैंलाई प्रश्न गर्दा नै ठीक होला ।
आन्दोलन के का लागि ? व्यवस्था परिवर्तनका लागि कि अवस्था परिवर्तनका लागि ? पुराना कुरा नगरौं भन्दै पन्छिन खोजे हाम्रा किरण बाजे ! त्यसो भए २०१७ सालदेखि ०४६ सम्म के पाए जनताले ? ०४७ देखि ०८१ सालसम्म के पाए ? सबैको साझा प्रश्न नै त्यही हो भन्छन्, सानो राजा ।किरण बाजे खै किन हो त्यत्ति खुलेनन् । संसद्देखि सडकसम्म शक्ति प्रदर्शन के का लागि हो त ? जनतालाई आन्दोलनले के दिन्छ र ? आन्दोलन भन्यो आगो बाल्यो सरकारी सम्पत्ति खरानी बनायो । यो त २० वर्षअघि नै बन्द हुनुपर्ने थियो ।
किरण बाजे आन्दोलनका हर्ताकर्ता । यता सानो राजा आन्दोलनको विपक्षमा । कुरो के मिल्थ्यो ! संसद्मा ज्ञानेन्द्र, योगेश र विश्वप्रकाश जस्तै । संसद्मा राजतन्त्रवादी र गणतन्त्रवादीबीचको जुहारी । एउटा वारि एउटा पारि ।जे होस् पहिले–पहिले १० वर्षमा हुने आन्दोलन अहिले २० वर्षमा सरेको छ । दुई–चार दशकपछि ३० वर्षमा सर्ला ! आखिर के का लागि । चाहे त्यो गणतन्त्रवादीको होस् चाहे राजावादीको होस् । जब जनताको आशा र भरोसा टुटेपछि यस्तै आन्दोलन र आगोमात्र देखिने हो ।
केही वर्षपछि वृद्धाश्रमहुँदै गरेको मुलुकमा आन्दोलनका जात्रा किन ? सानो राजाले किरण बाजेलाई कोट्याइरहेका छन् । तर किरण बाजे ढुंगा बोल्ला मान्छे बोल्नेवाला छैनन् । आज किन हो सानो राजाको पालोजस्तै । उहीमात्र एकोहोरो । सरकार, सरकारजस्तै भएन । कांग्रेस–एमाले दुई मिलेर तानाशाह लाद्न खोजेपछि बालेन शाहले टुकुचामा गाड्न समयसीमा तोक्ने दिन पनि आयो । अनि निरंकुशतन्त्र फाल्नेहरु नै ज्ञानेन्द्र शाहका पक्षमा आगो बाल्न आए ?
‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबैं टेडी’ भनेजस्तै भो । गणतन्त्रको फल कसैकसैका लागिमात्र मिठो भो । सारा दुनियाँलाई तितो भो । जनताले राजा नै कहाँ मागेका थिए र ? व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तन खोजेका थिए । भोका नागरिकले खाना खोजे । बेरोजगारले रोजगारीको अवसर खोजे । बिरामीले उपचार खोजे । अभिभावकले गुणस्तरीय शिक्षालय खोजे । तर शिक्षालय व्यापारीको भो ! अस्पताल माफियाको भो ! बेरोजगारलाई दुबई, कतार मान्छे बेचेजस्तै भो । आफैं केही गर्न खोज्नेहरुका लागि जन्माउन पाएको छैन सरकारको करले थिलथिलो भो !
बाँच्नका लागि केही त गर्नै पर्ने भो । दलमा लाग्नेहरुका लागि सर्वत्र फलिफापमात्र भो नागरिकहरुका लागि नेताहरुकै कारण बिल्लीबाठ भो । २०५२ सालमा गाउँबाट लखेटे, ०६२ मा सदरमुकामबाट खेदेझै ०८२ मा कता खेद्ने हुन् ? आखिर के का लागि आन्दोलन र आगो ?सरकार जनताको भैदिएको भए, युवाहरु खाडीमा बेचिनु पर्दैनथ्यो होला ? गाउँमा डाँडामाथिको घाम जस्तै भएका बा आमाहरु घिटीघिटी भएर काल कुरेर बस्नु पर्दैनथ्यो होला । सन्तान, बाउ आमाको काखमा लुट्पुटिएर सधैंभरि वरिपरि बस्ने वातावरण कसले खोस्यो ? कहिले कांग्रेस–एमालेले खोस्यो, कहिले पञ्चेले खोज्यो, कहिले माओवादीले खोस्यो । खोस्नेबाहेक के पो दियो र !
त्यही संसद्मा गाईजात्रा होइन जनताका लागि आवाज उठ्नुपर्ने थियो । त्यही संसद्बाट रोजगारी वृद्धि, उद्योगधन्दा सञ्चालनका कुरा उठ्नुपर्दथ्यो । शिक्षा र स्वास्थ्य सरकारको नियन्त्रणमा हुने निर्णय गर्नु पथ्र्यो । हरेक नागरिकले आफ्नो क्षमता र सीपअनुसारको काम आफ्नै गाउँ टोलमा बसेर गर्न पाउनु पथ्र्यो ।तर, जनताको हात रित्तो, ऋणै ऋणको भारले थिच्यो । संसद्देखि सडकसम्म आन्दोलनको रन्को । नेता सबलाई राजा बन्ने रहर । जनता बबुरा त्यही आन्दोलन र आगोमा परेर मर !