काठमाडौं- मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकाल्दै च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा च्यासल ४–० ले विजयी भएको हो।
जितसँगै च्यासलले चार खेलबाट सात अंक पुर्याएको छ।च्यासल शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडभन्दा दुई अंकले पछि छ। यस्तै, श्री भगवती क्लबसँग भने अंक बराबरी गरेको छ। यद्यपि, यी दुई क्लबले च्यासलभन्दा एक खेल कम खेलेका छन्। पराजित मध्यपुरको भने तीन खेलबाट चार अंक छ।
च्यासललाई दोस्रो जित दिलाउन आशिष थारु, नीरज कार्की, सुजन विश्वकर्मा र कुशल देउवाले गोल गरे।मध्यपुरले पहिलो हाफमा च्यासललाई गोलरहित बराबरीमा रोकेको थियो। तर, ५६औं मिनेटमा आशिषको गोलमार्फत च्यासलले सुरुआती अग्रता लियो। त्यसको चार मिनेटपछि नीरजले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै च्यासललाई एकपक्षीय जितनजिक पुर्याइसकेका थिए। तर, इन्जुरी समयको पाँचौं मिनेटमा कुशलले अर्को गोल थपे।