सरकारले एसइई परीक्षा स्थगित गरेको छ । बिहीबारबाट तय भएको एसइई परीक्षा स्थगित हुनु अस्वभाविक नभए पनि सरकारले अन्तिम समयमा आएर स्थगित गर्नु दुर्भाग्यपूर्ण मानिन्छ । एसइई परीक्षा काठमाडौं र यातायातको सुविधा सम्पन्न सहरहरूमा मात्र सञ्चालन हुने होइनन् । यो त गाउँ–गाउँमा पनि सञ्चालन हुन्छन् । परीक्षाकै लागि अहिले अधिकांश ग्रामीण भेगका विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगिसकेका छन् । उनीहरूले परीक्षाको तयारी गरिसकेका छन् । परीक्षाको तयारीभन्दा पनि गरिब विद्यार्थीहरूले ऋण गरेर नै परीक्षा केन्द्र पुगेका छन् । उनीहरू परीक्षाको अन्तिम तयारी गर्दागर्दै परीक्षा स्थगित गर्नु सरकारको सबैभन्दा बढी गैरजिम्मेवारीपन हो । परीक्षा स्थगित नै गर्नु थियो भने केही दिनअघि नै स्थगित गर्नुपथ्र्यो । जसले गर्दा विद्यार्थीहरू परीक्षा केन्द्र पुग्ने थिएनन् । उनीहरूका अभिभावकले अब ऋणको भारी बोक्नुपर्ने भएको छ ।
केही दिनअघि परीक्षा स्थगित गरेको भए आज विद्यार्थीहरूले दुःख पाउने थिएनन् । ग्रामीण भेगका विद्यार्थीका लागि अत्यन्तै अन्याय भएको छ । सरकारले काठमाडौं र केही सुविधा सम्पन्न सहरहरूका लागि मात्र सोचेर काम गरेको देखिएको छ । तर, ग्रामीण क्षेत्र जो दुई तीन दिन हिँडेर परीक्षा दिनका लागि केन्द्रसम्म पुगेका छन्, उनीहरूको बारेमा सोच्न नसक्ने सरकार अत्यन्तै निकम्मा देखिएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो । हो, यस्तो विपत्मा सरकारले जनताका लागि सधैँ चिन्तित रहनुपर्छ र सरकारको निर्णय जनताले पालना गर्नु पनि पर्छ । तर, यसरी अत्यन्तै असुविधा हुने गरी गरिएको निर्णयले जनताले राहत नपाएर आहत पाएको देखिन्छ । यत्तिको गम्भीर निर्णय अन्तिम समयमा गर्नुको स्वार्थ के ? जनताको पक्षमा सरकार देखिएन ।
हो, यो कोरोना भाइरस भन्नेबित्तिकै एउटा तेस्रो विश्वयुद्धका रूपमा लिन थालिएको छ । यत्तिका आपत् र विपत् पर्दा सरकारले जनताका लागि केही न केही निर्णय गर्नुपर्छ । तर, अन्तिम समयमा गरिएको निर्णयले विद्यार्थी र अभिभावकलाई सास्ती दिएको छ । परीक्षा रोक्ने तयारी यसअघि नै भइरहेको थियो । केही दिनअघि मात्र पनि उपप्रधानमन्त्रीले कोरोनाकै कारण मुलुक लकडाउन गरिने बताइसकेपछि यसबेला नै सबै परीक्षा रोकिने संकेत देखिएको थियो । अन्तिम समयमा आएर परीक्षा स्थगित हुनु सरकारले नै जनतालाई आतंकित बनाएको देखिएको छ । केही दिनअघि नै परीक्षा स्थगित गरेको भए गरिब विद्यार्थीले सदरमुकाम तथा केन्द्रमा पुग्नुपर्ने थिएन । मंगलबारसम्म पनि परीक्षा नरोकिने भन्दै आएको सरकारले बुधबार कसको लहैलहैमा लागेर परीक्षा स्थगित गरेको हो ? यसको जवाफ सरकारले दिनुपर्छ । जनतालाई आतंकित पार्नका लागि भएको छापामार शैलीको निर्णयले गरिब जनतालाई पर्ने असरको हिसाब किताब गर्ने कि नगर्ने ? जनतालाई भेडाबाख्रा सम्झने सरकारले बुद्धिमत्तापूर्ण काम गर्नुपर्छ न कि उड्डयन्ते हिसाबले । जनताको सुविधाका लागि सरकारले सधैँ निर्णय गर्नुपर्छ न कि जनतालाई आतंकित ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६ ०७:०८