काठमाडाैं - भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड पुरस्कार वितरण गरेको छ ।चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि सुपरमार्केटमा लुटपाट गर्न आएकाहरूलाई प्रतिकार गरेको भन्दै सुरक्षागार्डहरूलाई बुधबार पुरस्कृत गरेको हो।
भाटभटेनी सुपर स्टोर लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन भाटभटेनीका सुरक्षा गार्ड दुुलप्रसाद पराजुली एक्लैले प्रतिकार गरेर ‘बहादुरी’ देखाएपछि उनले सम्मान पाएका हुन् । भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।
पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।१५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडमा काटेश्वर भाटभटेनी जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए ।उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।
यस्तै सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारी छन् । उनीहरूलाई ५ हजार नगदसहित सम्मान गरिएको हो ।
भाटभटेनी सञ्चालक गुरुङले सम्मान समारोहमा बोल्दै राजावादीले भाटभटेनीमा धावा बोलेर लुट्ने काम गरेको निकै खेदपूर्ण रहेको बताए ।‘विगतमा पनि आन्दोलनका कार्यक्रम हुँदै आएका थिए, तर अहिले जस्तो निजी र सार्वजनिक सम्पत्तिमा धावा बोल्ने गतिविधि भएका थिएनन्,’ गुरुङले भने, ‘अरूको सम्पत्ति तोडफोड गर्ने र समाज सुसूचित गराउने फोटो पत्रकार जलाएर मार्ने बर्बर आन्दोलन कहिल्यै देखिएको थिएन ।’ उनले आज भाटभटेनी लुट्नेले भोलि अरू व्यवसायीको सम्पत्ति नलुट्लान् भन्न नसकिने बताए ।
यसेगरी चैत १५ को घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र मृतक सबिन महर्जनको परिवारलाई ३ लाख रुपैंयाँ सहयोग गर्ने भाटभटेनीका संचालक गुरूङले उद्घाेष गरे ।