- भरिया समातिएको दुई सातापछि मालिक पहिचान
- फरार पौडेलविरुद्ध पक्राउ पुर्जी जारी, भारत पुगेको आशंका
- विवादित पृष्ठभूमिका व्यापारी पौडेलले सुन तस्करीका लागि उक्त रकम चीन लैजाना लागेको खुलासा
काठमाडौं– राजस्व अनुसन्धान विभागले काठमाडौंको टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डबाट एक ट्रकमा बरामद अवैध २५ करोड रुपैयाँको मालिक पहिचान गरेको छ । ट्रकका चालक समातिएको दुई सातापछि विभागले अवैध रकमको मालिक पहिचान गरेको हो ।
भागका अनुसार उक्त अवैध रकमका मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीय नारायण पौडेल रहेको पहिचान भएको छ । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सबुत र प्रमाणका आधारमा पौडेल मालिक भएको पहिचान गरिएको बताए । ‘९८३/७/११८४ नागरिकता प्रमाणपत्र नम्बर भएका नारायण पौडेल मालिक भएको हामीले पहिचान गर्यौं । पहिले भोटेकोशी–४ स्थायी ठेगाना हो,’ उनले प्रभावसँग भने, ‘अहिलेचाहिँ टोखाको महादेवटार हाइटमा बस्दोरहेछ ।’
९८३७/११८४ नागरिकता प्रमाणपत्र नम्बर भएका नारायण पौडेल मालिक भएको हामीले पहिचान गर्यौं । पहिले भोटेकोशी–४ स्थायी ठेगाना हो । अहिलेचाहिँ टोखाको महादेवटार हाइटमा बस्दोरहेछ ।
चण्डिप्रसाद घिमिरे
महानिर्देशक, राजस्व अनुसन्धान विभाग
घिमिरेले हाल फरार रहेका मालिक पौडेललाई पक्रन आइतबार नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको जानकारी दिए । ‘हाम्रो टोली महादेवटार हाइटमा भएको घरमा गयो । भोटेकोशीस्थित घरमा पनि गयो तर फेला पार्न सकेनौं । महादेवटार हाइटमा भएको घरमा त कामदारमात्रै फेला पार्यौं । उनलाई पक्राउ गर्न अदालतबाट आइतबार नै पुर्जी जारी भइसकेको छ,’ उनले भने ।
पौडेलकै मुख्य लगानी र योजनामा २५ करोड रुपैयाँबराबरको युरो र अमेरिकी डलर चीन लैजान लागेको विभागको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानको क्रममा चीनबाट सुन तस्करी गर्नकै लागि उक्त रकम चीन लैजाँदै गरेको निष्कर्ष निकालिएको थियो । पैसा लान भने उनले भरियाको रूपमा ट्रकका चालक कुसाङ लामालाई प्रयोग गरेको देखिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ चैत ४ गते पक्राउ परेका थिए ।
ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामा पक्राउ परेका थिए । त्यसपछि प्रहरीले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागका महानिर्देशक घिमिरेले लामो समयसम्मको सिसिटिभी फुटेजसँगै कल डिटेल्स् र त्यसको विश्लेषण र डिजिटल डिभाइसको अध्ययनका आधारमा मालिकको पहिचान गर्न सकिएको बताए ।
उनकै संलग्नतामा ५००, २००, १०० दरको जम्मा १३ लाख ७५ हजार १५० युरो र १००, ५० दरका ती लाख २० हजार ८५० रुपैयाँ ९२५ करोड १९ लाख २४ हजार रकम ट्रकमा लोड भएको सीसीटीभ फुटेजसमेत पत्ता लगाइएको विभागले जनाएको छ । चालक लामाले भने काठमाडौंको सामाखुसीमा उक्त रकम बसमा लोड गरिएको बयान दिएका छन् । तर, प्रहरीले भने लोड भएको स्थानबारे भने जानकारी दिएको छैन ।
यद्यपि, ४ चैतको राति प्रहरीले ११ बजे राति चालक लामालाई पक्राउ गर्नुभन्दा केही समयअघि मात्रै नारायण र चालकबीच फोनमा कुराकानी भएको विवरणसमेत भेटिएको छ । विभागले नारायणको अन्तिम लोकेसन टोखा फेला पारेको छ । टोखादेखि नै उनको फोन स्वीच भएको जनाएको छ । त्यसले गर्दा उनको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पौडेल भारत पुगेको हुन सक्ने आशंका गरेको छ । उनको सरकारले राहदानी रोक्का गरेको छ ।
पौडेल पहिलेदेखि नै विवादास्पद पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । उनी हुण्डीदेखि डलर र सुन तस्करीसम्म जोडिएका छन् । उनले सार्वजनिक छाप दस्तखत कीर्तेमासमेत मुद्दा झेलेको पाइएको छ । उनी नेकपा माओवादी केन्द्रमा आबद्ध भएको स्रोतले जनाएको छ । २०६० सालतिरदेखि कन्टेनर किनेर नारायण र उनका दाजु राजकुमार चीनबाट सामान आयात–निर्यात गर्थे । त्यहीबेला दाजुभाइको सम्पत्ति अचाक्ली गरी बढेको थियो । हाल उनीहरूको लगानी हाइड्रो, क्रसरलगायत क्षेत्रमा पनि छ ।
विभागले विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अतर्गतको कसूरमा अनुसन्धान गरिरहेको छ । रकमसहित पक्राउ परेका र यसका मालिकविरुद्ध सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान गर्नुपर्ने देखिएको अवस्थामा त्यसमासमेत अनुसन्धान गर्ने विभागको तयारी छ । यी तीनवटै कसूरको अनुसन्धान क्षेत्राधिकार विभागसँग छ । संगठित अपराधको कसूर जोडिएको अवस्थामा भने विभागबाट यो अनुसन्धान प्रहरीमा सर्ने छ ।यसअघि संसद्मा सांसदहरूले प्रहरीको आलोचना गरेका थिए । कहिल्यै मालिक पक्राउ नगर्ने अनि ट्याक्सी ड्राभइर, भरियाजस्तालाई मात्रै पक्राउ गरेर कानुनी दायरामा ल्याउनु गलत र आपत्तिजनक भएको उनीहरूको भनाइ थियो । जतिसुकै ठूला आरोपी भए पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउन दबाब दिइएको थियो । यसरी संसद्मासमेत यो विषय उठेको दुई सातापछि २५ करोड अवैध नोटका मालिकलाई प्रहरीले पहिचान गरेको हो । मालिक भने पक्राउ परेका छैनन् ।