संसद्को हिउँदे अधिवेशन सुरु हुँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारको दाबी थियो– यो अधिवेशन विधेयक अधिवेशनको रुपमा अघि बढ्छ । तर यो अधिवेशन यसरी बित्यो कि कहिले राजावादीको आन्दोलनबारे बकवास त कहिले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाएको विषयमा प्रश्न सोध्दै ।
धन्न सरकारले आफ्नो नाक जोगाउन अध्यादेश पारित गराइ छाड्यो । ६१ दिने हिउँदे अधिवेशन जम्मा २५ दिन चलेर मंगलबार अन्त्य भयो । यो अवधिमा जम्मा नौ विधेयकमात्र पारित भएर आयो । १३ विधेयक भने सदनमै अलपत्र । यही अलपत्र परेकामध्ये एउटा विधेयक हो शिक्षा विधेयक । यही विधेयकका कारण अहिले देशभरका शिक्षकहरु ‘आन्दोलन भाग–२’ भन्दै काठमाडौं ओइरिएका छन् ।
यसअघि शिक्षकहरु गत ३ असोज २०८० मा आन्दोलनमा उत्रिएका थिए । ५ असोजमा छ बुँदे सहमति भएपछि उक्त आन्दोलन रोकिएको थियो । उक्त सहमतिअनुसार ऐन जारी नभएपछि आफूहरु पुनः आन्दोलनमा उत्रिएको उनीहरुको दाबी छ । पेसा प्रवेश उमेर ४० वर्ष र अभिभावकको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति बनाउन, शिक्षकको राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्नुपर्ने, ट्रेड युनियन अधिकारको संरक्षण गर्नेगरी ऐन बनाउनुपर्नेलगायतका माग शिक्षकको छ ।
राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन हेन्डसेकको व्यवस्था गर्नुपर्ने माग शिक्षकहरूको छ । बाल विकास शिक्षालाई विद्यालयभित्र ल्याउनुपर्ने र शिक्षक बढुवामा चार श्रेणीको व्यवस्था गरी हरेक १० वर्षमा बढुवा हुने माग पनि शिक्षकहरूले राखेका छन् ।
शिक्षकको विभागीय कारबाही अधिकार जिल्ला, प्रदेश र संघका कार्यालयमा विभाजन गर्नुपर्ने माग उनीहरूको छ । संसद्को हिउँदे अधिवेशन अन्त्य भएकोले अहिले भर्खरै शिक्षकको माग पूरा हुने अवस्था पनि छैन । शिक्षकको आन्दोलनलाई व्यर्थको भन्दै अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले थाइल्याण्ड पुगेका छन् । शिक्षामन्त्री विद्या भट्टराईको कुनै पनि निर्णय शिक्षकहरुले पत्याउने देखिन्न । यस्तो अवस्थामा शिक्षकहरुले अध्यादेशको माग गरिरहेका छन् ।
सरकारले हालै ल्याएका पाँच अध्यादेशको उदाहरण दिँदै उनीहरुले शिक्षकको माग अध्यादेशबाट पूरा गर्न मागिरहेका छन् । के यसरी सरकारलाई अध्यादेश ल्याउन शिक्षकले उक्साउन मिल्छ त ? अर्को कुरा यो विद्यार्थीको नतिजा, उत्तरपुस्तिका परीक्षण र भर्ना अभियानको समय हो । यसरी काठमाडौंमै उत्रेर सडक ठप्प पार्ने शिक्षा शिक्षकबाट सिकाउँदा के सन्देश जाला ?