महोत्तरी – महोत्तरी सदरमुकाम जलेश्वरमा आजदेखि लोकल खुला मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । प्रहरीका अनुसार धनुषामा एक साताअघि लोकल खुला मदिराको सेवनबाट १७ जनाको ज्यान गएकाले प्रशासनले सरोकारवालासँग बसेर निर्णय गर्दै आजदेखि जलेश्वर नगरपालिका र वरपरका सबै बजारमा लोकल खुला मदिरा बिक्री वितरण तथा उत्पादनमा पूर्ण रुपले प्रतिबन्ध लगाएको हो । धनुषामा १७ जनाको ज्यान गएलगत्तै जिल्लाकै मनरा नगरपालिका– १ मा गएको तीन दिनमा अकस्मात् पाँच जनाको फेरि मृत्यु भएको छ जसको कारण पनि मदिरा सेवन नै भएको आशङ्का गर्दै जलेश्वर र वरपरका सबै हाट बजार तथा गाउँ टोलमा आजबाट खुला मदिरा बिक्रीवितरण तथा उत्पादनमा प्रतिबन्ध लगाइएको हो । प्रहरीले प्रशासनिक प्रतिबन्धकाबीच लुकाइछिपाइ वा बेवास्ता गर्दै कुनै पनि व्यवसायी, होटल, उत्पादक वा सेवाग्राही समेतले खुला मदिरा बेचेको, उत्पादन गरेको, ओसारपसार गरेको वा सेवनमात्र गरेको पाइएमा पनि कडाभन्दा कडा कानूनी कारवाही गरिने बताएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६ ०९:१६