काठमाडौं– ‘विगत दुई वर्षदेखि हामी म्यानपावर र कन्सल्टेन्सी पीडितहरु न्याय मागिरहेका छौं । तर सरकार किन हाम्रो कुरा सुन्दैन ? कुन सरकारले हो हामीलाई न्याय दिने ?’ बुधबार माइतीघर मण्डलमा सरकारलाई खबरदारी गर्न धर्नामा बसेका म्यानपावरपीडितहरु आफ्नो पीडा यसरी पोख्दै थिए । सरकारलाई आफ्नो समस्या सुनाउन आएकी एक युवतीसँग कुराकानी गरियो । उनले आफू फसेको कुरा घरमा थाहा नभएकाले नाम खुलाउन चाहिनन् । उनको घर नुवाकोट रहेछ ।
उनले सन् २०२२ मा सुकेधारामा रहेको काठमाडौं ब्राइट ह्युमन रिसोेर्समा चार लाख ५० हजार रुपैयाँ बुझाएको बताइन् । उनलाई क्रोएसियामा फलफूल प्याकिङको काममा पठाइदिने भनिएको थियो । उनीजस्तै थुप्रैलाई क्रोएसिया पठाइदिने भनेर नुवाकोटको बिदुर नगरपालिकाका गजेन्द्रबहादुर तामाङले साढे तीन लाखदेखि १६ लाख रुपैयाँसम्म उठाएको पीडितहरु बताउँछन् । गजेन्द्र विगत दुई वर्षदेखि बेपत्ता छन् । पीडितहरुले प्रहरीमा उजुरी गरे पनि उनलाई समात्न सकेको छैन ।
खोटाङका धिरज गिरी पोल्याण्ड जाने भनेर ललितपुरमा रहेको इलाइट टु ह्युमन रिसोर्स एण्ड हस्पिटालिटी (इटुडब्ल्यू) पुगे । त्यहाँका मार्केटिङ म्यानेजर कृष्ण नेपालीलाई एक लाख रुपैयाँ बुझाए । उनले एक वर्षअघि रकम बुझाएका थिए । काम किन ढिला भयो भनेर सोध्दा हुँदै छ भनिन्थ्यो । आहिले उक्त कम्पनी बन्द छ, सञ्चालक फरार छन् । ‘यसको प्रधान कार्यालय कतारमा छ । कृष्णले म बोसलाई भेट्न कतार आएको छु, जसरी भए पनि काम गरिदिन्छु भन्ने गरेको थियो । अहिले सम्पर्कविहीन भएको पाँच महिनाजति भयो,’ पीडित गिरीले भने, ‘हामी पीडितहरुले वैदेशिक रोजगार विभागमा मुद्दा हालेका छौं, त्यो त हेर्नप¥यो नि । जहिले जाँदा पनि विभागले हुँदै छ मात्र भन्छ, के हुँदै छ त खोइ ?’
म्याग्दीकी गंगा पुन आफ्नो भाइ जुने पुनलाई वैदेशिक रोजगारीमा पठाउन खोज्दा धेरै पटक ठगीमा परेकी छन् । करिब चार–पाँच वर्षअघि पोर्चुगल पठाउने भनेर दुई लाख रुपैयाँ, माल्टा पठाउने भनेर दुई लाख ५० हजार र मकाउ पठाउने भनेर पाँच लाख रुपैयाँ डुबेको उनले बताइन् । यो सबै पैसा दलालले खाइदिएको उनको भनाइ छ । ‘हामी त गाउँको मान्छे, कहाँबाट पठाउने पनि थाहा थिएन,’ उनले भनिन् । व्यक्तिले होइन संस्थाबाट पठाउँदा सुरक्षित हुन्छ भनेर थाहा पाएपछि उनी कलंकीमा रहेको पल्स वेभ कन्सल्टेन्सीमा पुगिन् । त्यहाँ फलफूल प्याकिङमा डेनमार्क पु¥याइदिने भनेर सञ्चालकले ४० हजार रुपैयाँ मागे । अब भने भाइ विदेश जाने भयो भनेर कुर्दाकुर्दै उनले एक महिनाअघि सञ्चालक भागेको खबर पाइन् । वैदेशिक रोजगार विभागले सञ्चालकका नाममा पक्राउ पुर्जी जारी गरे पनि पीडक अझै फरार छन् ।
पीडितहरुलाई एकीकृत बनाइरहेका युवा दीपक रावल पीडितहरु निरन्तर सडकमा आउँदा पनि कसैले नसुनेको बताउँछन् । आफूहरुले न्याय नपाएसम्म जतिबेला पनि आन्दोलन गर्न सक्ने उनको भनाइ छ । एउटा कन्सल्टेन्सी र म्यानपावरले २०० देखि एक हजार जनालाई ठगेको भेटिएको उनले बताए । काठमाडौं ब्राइट ह्युमन रिसोर्सबाट २०० जनाभन्दा बढी, पल्स वेभबाट ७०० भन्दा बढी, इटुडब्ल्यू र सबकुरा नामक कन्सल्टेन्सीबाट एक हजारभन्दा बढी, राप्ती म्यानपावरबाट १०० भन्दा बढी ठगिएको उनको भनाइ छ ।
‘सञ्चालकहरुले पीडितलाई उल्टै थर्काउने, धम्क्याउने गरिरहेका छन् । यस्तो हुँदा कतिपय पीडित बोल्नै डराउँछन् । सरकारले न्याय नदिएसम्म हामी सडक छोड््दैनौं,’ रावलले भने, ‘श्रममन्त्रीसँग हालसालै भेट्दा अब सशक्त ढंगले काम गर्छु, हेर्दै जानुहोस् के–के गर्छु भन्नुभएको छ । तर पीडकलाई जोगाउनलाई हेर्दै जानुस् भनेको हो या पीडितलार्र्र्ई न्याय दिने काममा भन्ने बुझ्न सकेको छैन ।’ अब संगठन बनाएर देशभरका पीडितलाई काठमाडौंमा ल्याउने तयारी गर्ने उनले बताए ।
‘विभागको कारण मात्र ढिला भएको होइन’
वैदेशिक रोजगार विभागले भने वैदेशिक रोजगारीका नाममा हुने ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताउँछ । विभागकै कारणले मात्रै कारबाहीमा ढिलाइ नभएको विभागका अधिकारी बताउँछन् । विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी अभियुक्त पक्राउ गर्न विभिन्न निकायसँग समन्वय गर्नुपर्ने भएकोले समय लाग्ने बताउँछन् । तर पीडितहरु आत्तिहाल्ने गर्दा विभागले ढिला गरेको जस्तो देखिएको उनी बताउँछन् ।
‘समस्या हजारौंमा छन्, समाधान सयको हाराहारीमा हुन्छ । यथार्थ यही हो । यस्ता केसमा विशेष सरकारी वकिल, वैदेशिक रोजगार न्यायाधीकरण, देशभरका प्रहरीदेखि इन्टरपोलसमेत संलग्न हुनुपर्ने हुन्छ, त्यसैले समय लागेको हो,’ उनले भने । यदि पक्राउ पुर्जी जारी भएपछि अभियुक्त पक्राउ परेन भने प्रहरीबाट पक्राउ पर्न नसकेको कागज ल्याएपछि मात्र बाँकी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । उनले पीडकबाट थर्काउने, धम्क्याउने कार्य भए प्रहरीमा जाहेरी दिन सुझाव दिए ।