काठमाडौं महानगरपालिका पछिल्लो समय स्वतन्त्ररुपमा निर्वाचित मेयर बालेन्द्र साहका कामकारबाहीका कारण निकै नै चर्चामा छ । निर्वाचित भएर आएसँगै सुरु गरेको डोजर आतंकदेखि फुटपाथ, ठेलागाडा व्यापारीहरुमाथि गरिएको गतिविधिहरुले पनि मेयर बालेन चर्चामा आइ नै रहे । कतिपयले मेयर बालेनले गरेका गतिविधिलाई गरिबमाथिको थिचोमिचो भनिरहेका छन् भने कतिपय बालेनले गरेको काम निकै नै उत्कृष्ट भन्ने खालका अभिव्यक्ति पनि दिने गर्दछन् ।
बालेन सबैभन्दा बढी चर्चामा आउने कारण भनेको उनले सामाजिक सञ्जालमा पोख्ने गरेका अभिव्यक्ति नै हुन् । निर्वाचित हुनुभन्दा अगाडिसम्म सबै सञ्चारगृहदेखि सामाजिक सञ्जाल युट्युबहरुसम्म निकै नै हिमचिम गर्ने उनी निर्वाचित भएपश्चात् भने मिडियामा बोल्न नै चाहँदैनन् । जे बोल्नु छ त्यसलाई सामाजिक सञ्जाल फेसबुकमार्फत पोख्ने गर्दछन् ।
‘सिंहदबार जलाउने’ शब्दबाट सुरु भएको उनको अराजक अभिव्यक्ति पछिल्लो समय ‘नेताहरुलाई टुकुचामा गाड्ने’ले निकै नै बजार तताएको थियो । मेयरको पदको मर्यादाभित्र बसे बसेनन् वा कुन रिस पोखिरहेका छन् भन्ने कुरा फरक पाटो होला तर देशको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका नेतृत्वकै कारण बेलगामजस्तै भएको अनुभूति गर्न थालिएको छ ।
बिहीबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईंलाई जुन ढंगले कार्यालय प्रवेश गराइयो त्यो दृश्यले महानगरपालिका दुई चिरामा देखिएको छ । कर्मचारी र उपमेयरसहितका जनप्रतिनिधि एकातिर छन् भने अर्कोतिर मेयर बालेन, उनको सचिवालय तथा सल्लाहकार र नगर प्रहरी प्रमुख ।
बिहीबारसम्म मेयर बालेनदेखि त्राहीत्राही बनिरहेका कर्मचारी बिहीबारको घटनापछि भने एक कदम अगाडि बढेको देखिन्छ । मेयरका विपक्षमा कहिल्यै नबोल्ने कर्मचारीले बालेनलाई राजा बन्न खोजिरहेको आरोपसहितको अभिव्यक्ति नै दिएका छन् । यसले महानगरका अहिले बेलगाम घोडाजस्तै दौडिरहेको अनुभूत गराउँछ ।
त्यत्तिमात्र कहाँ हो र ! महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर र मेयरका निजी सचिव भूपदेव साहले सञ्चारमाध्यममा दिएका अभिव्यक्तिले आमनागरिकलाई पनि ‘कन्फ्युज’ बनाइदिएको छ । त्यो के हो भने, महानगरपालिका मर्यादाक्रम नै भंग भएको छ । निर्वाचित जनप्रतिनिधिभन्दा मेयरका निजी सचिव उपल्लो दर्जाका हुन् भन्ने स्थापित गर्न खोजिएको छ ।
मेयरले निर्देशन होइन उनका निजी सचिवले निर्देशन दिने गर्दछन् । प्रमुख प्रशासकीय अधिकृतदेखि सम्पूर्ण कर्मचारी निजी सचिवको निणन्त्रणमा छन् । निजी सचिव भूपदेवले एक टेलिभिजनमा प्रमुख प्रशासकीय अधिकृतलाई जबरजस्ती भित्र्याएको भन्दै उपमेयर सुनितादेखि वडाध्यक्षहरु समेत जेल जानसक्ने चेतावनी दिनुले महानगर बेलगाम छ भन्ने कुरा छर्लंग भएको छ ।