काठमाडाैं - उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले प्रहरी वृत्त कीर्तिपुरमा नव:निर्मित नवदुर्गा भगवती मन्दिरको उद्घाटन गरेका छन् ।
आइतबार प्रहरी वृत्त कीर्तिपुरका प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत ४ लाख ६१ हजार ७५६ रुपैयामा नव:निर्मित नवदुर्गा भगवती मन्दिरको निर्माण कार्य सम्पन्न गरी एआईजी तामाङले उद्घाटन गरेका हुन् ।
उनले भने ,'नेपाली सेना र नेपाल प्रहरीमा बडा दशैं तथा चैते दशैंको अवसरमा नवरात्रको वली,मौलो पूजा र निशान पूजा अनिवार्य र महत्वपूर्ण हुन्छ । देश र नागरिकको संरक्षण र समुत्थानमा सुरक्षा निकायको भूमिका महत्वपुर्ण हुन्छ । सो भूमिका निर्वाह गर्न फौजले निर्भिकता, निश्छलता, निर्लोभता, कर्तव्यनिष्ठता र अजेयबल सम्पन्नता जस्ता गुणहरुको उपार्जन गरिरहनुपर्दछ । सो गुण देवी देवताहरुको अर्चना आराधना र सम्झनाबाट मात्र हुन सक्छ भन्ने मान्यता परापुर्वकाल देखि स्थापित रहेको छ ।'
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी वृत्त कीर्तिपुरका प्रमुख भुवनेश्वर प्रसाद साह लगायत अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।