काठमाडौं - आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को महिना आयोजना हुनेछ।आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै ६ टोलीको सहभागितामा २०८२ वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुने जानकारी दिएको छ।
प्रतियोगितालाई विगतमा जस्तै केएनपी निरोलेकले मुख्य प्रायोजन गरेको छ । प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी निरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरे।प्रतियोगितामा साविक एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता निश्चित भइसकेको बताइएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबको पनि सहभागिता रहने विश्वास रहेको प्रतिष्ठानको अध्यक्ष रन्जन खड्काले बताए ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीले ४ लाख ९९ हजार , दोस्रोले २ लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँप्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिवेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँप्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय महिला खेलाडीले ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ।