काठमाडौं - वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए ।
उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा भएको थियो । पत्रकार रिसालले यसअघि नै मृत्युपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।
पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको जिम्मेवारी निर्वाह गरेका थिए । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्यांक विभागमा रहेर काम गरेका थिए ।
पत्रकार रिसालले जगदम्बा श्री, मानवअधिकारसम्बन्धी र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
वातावरण संरक्षणका लागि रिसालले लिएका पहल पनि सम्झनालायक छन् । ५० को दशकमा स्थानीयस्तरका राजनीतिक कार्यकर्तालाई वातावरण संरक्षणको महत्त्व बुझाउन वातावरण पत्रकार समूहले जिल्लाजिल्लामा कार्यक्रम गरेको थियो । त्यसको परिकल्पनाकार रिसाल नै थिए । रिसालकै आग्रहमा भूगोलविद् हर्क गुरुङ विभिन्न जिल्ला पुगेका थिए । स्थानीयहरूलाई आधुनिक र उन्नत कृषि प्रणालीतर्फ अग्रसर गराउन पनि रिसाल सक्रिय थिए । आलु खेतीमै मात्र सीमित रहेका इलाम जसबिरेका किसानहरूलाई नयाँ कृषि प्रविधि प्रयोग गर्न, चिया र दूधजस्ता उत्पादनमा लाग्न प्रेरित गर्ने श्रेय पनि उनैलाई जान्छ ।
रिसाललाई सार्वजनिक आह्वानमार्फत स्रोत परिचालन गरेर दूरदराजका नागरिकलाई सेवा उपलब्ध गराउने अभियन्ताका रूपमा पनि सम्झिने गरिन्छ । उनकै अग्रसरतामा ५० कै दशकमा धादिङ र चितवनका चेपाङलाई रेडियो, बाजुराका सार्वजनिक स्कुलहरूमा शब्दकोश र कर्णाली उज्यालोजस्ता अभियान सञ्चालन गरिएको थियो । ती अभियानका लागि स्रोत जुटाउन उनले सार्वजनिक रूपमा आह्वान गरेका थिए । ‘अहिलेको क्राउड फन्डिङ भैरवदाइले ५० को दशकमै अभ्यास गर्नुभएको थियो,’ मैनाली सम्झन्छन् । डा. देवेन्द्रराज पाण्डे अध्यक्ष रहेको स्वावलम्बन अभियानलाई पाल्पा, गोरखालगायत जिल्लामा फैलाउन पनि रिसाल सक्रियतापूर्वक लागेका थिए ।
गत वर्ष ९६ औं जन्मदिन मनाउँदासम्म पनि लेखन र समाजसेवामा सक्रिय रिसाल पछिल्लो एक वर्षयता भने स्वास्थ्यका कारण निष्क्रिय थिए । ‘एक वर्षयता मात्र उहाँ सक्रिय हुनुहुन्थेन, बाँकी पूरै जीवन कहिले पनि चुप लागेर बस्नुभएन, सधैं समाजलाई केही न केही योगदान दिइराखूँ भनेर सक्रिय रहनुभयो,’ मैनालीले भने । उनी सूचनाकर्ममा लाग्ने सबैको प्रेरणाका स्रोत थिए । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरवदाइ’ लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।