नेपाल राष्ट्र बैंकको गभर्नर पद आइतबारबाट रिक्त भएको छ । सरकारले नयाँ गभर्नर बेलैमा छान्न नसक्दा उक्त पद रिक्त भएको हो । गभर्नर कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच रस्साकस्सी बढेको सुनिन्छ । सामान्यतः पुरानो गभर्नर बिदा हुनुभन्दा एक महिनाअघि नै सरकारले नयाँ गभर्नर नियुक्त गर्नुपर्ने हो । तर ठूला दुई पार्टी मिलेर बनेको सरकारले यो काम गर्न सकेन ।
आइतबारबाट बिदा भएका गभर्नर महाप्रसाद अधिकारी विभिन्न कारण विवादमा तानिए । केपी शर्मा ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री रहेका बेला गभर्नर भएका उनी एमालेको अर्थ विभागको सदस्यसम्म भएको सार्वजनिक भयो । त्यतिबेला उनको नाम छोटकरीमा ‘एम अधिकारी’ राखिएको थियो । उक्त खबर पुष्टि नभए पनि धेरैले एम अधिकारी गभर्नर महाप्रसाद नै भएको ठोकुवा गरे । यो विषय विवादकै गर्भमा रहेको छ ।
यद्यपि अधिकारीको कार्यकाल विभिन्न कारण विवादमा रह्यो । कांग्रेसबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई सहयोग नगरेको, देशको आर्थिक अवस्थाबारे सही सूचना नदिएको, देशको अर्थतन्त्र ‘ग्रे लिस्ट’मा परेकोदेखि आर्थिक अवस्था नाजुक भएकोसम्मका विषय अधिकारीको पालामा भए । यसले पनि प्रस्ट पार्छ गभर्नर कुनै पार्टीको कार्यकर्ता भएमा देशको अर्थतन्त्रमा कति ठूलो असर पर्छ भनेर ।
तर यसपटक सत्तारुढ दल विशेषगरी नेपाली कांग्रेस जसरी पनि आफ्नो मान्छेलाई राष्ट्र बैंकको नेतृत्व दिन चाहेको देखिन्छ । यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले अरु नेताहरुमार्फत आफ्नो रुचि प्रकट गरिरहेका छन् । कांग्रेस महामन्त्री गगन थापा, नेता डा. शेखर कोइरालादेखि अरु नेताले गभर्नरमा कांग्रेसले दाबी गर्नुपर्ने माग गरिरहेका छन् । सही अर्थनीतिका लागि कांग्रेसले रोजेकै गभर्नरले सही काम गर्लान् भन्ने के ग्यारेण्टी ?
सक्षम र राम्रा मान्छेलाई राष्ट्र बैंकको नेतृत्वमा ल्याउने साहस सरकारले गर्नुपर्छ । गभर्नर आफूले राख्न कांग्रेसले प्रमुख निर्वाचन आयुक्त एमालेलाई दिने भन्नेसम्मको भागबण्डा गरेको पनि चर्चा छ । तर यस्तो लेनदेन र भागबण्डाले नै हो नीतिगतरुपमा जनताको नजरमा सरकार गिर्दै जाने । त्यसैले बेलैमा विचार पु¥याऊ– हाम्रोलाई होइन, राम्रोलाई गभर्नर बनाऊ ।