काठमाडौं – नेपालमा परम्परागत कला पौभा र थाङ्कु चित्रकलाको सिर्जना र बजार कस्तो छ? यसै विषयमा सोमबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठाको परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार संघ काठमाडौं शाखाले विमर्श गरेको छ।
‘परम्परागत कलाको आयाम’ शीर्षकमा काठमाडौंको नक्सालस्थित प्रतिष्ठानको सभा हलमा गरिएको विमर्शमा व्यवसायी अनिल घिसिङले नयाँ पुस्ता थाङ्कु कला क्षेत्रमा नटिकेको बताए। 'अहिले नयाँ पुस्ताका कलाकार आउनुपर्ने हो। तर विदेश उडिहाल्ने चलन चलेको छ,' घिसिङले भने।
अहिले थाङ्कु सिर्जनामा पुरानै कलाको कपीपेस्टमात्र हुने गरेको घिसिङको भनाई थियो। 'बजार विस्तार हुन नसक्नुमा थाङ्कु लेखन परम्परागत भयो। नयाँ क्रिएसन र दर्शन आएन। खाली कपीपेस्ट छ। परिमार्जन भएको छैन,' घिसिङले भने।
कलाको सिर्जना र गुनात्मक दुवै पक्षलाई जोड्न समन्वयको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ। व्यवसायी सुनिल शाक्यले पौभा कलाकारहरुलाई कला सिर्जना गरेर मनग्गे कमाउन सक्ने ठाउँ रहेको उल्लेख गरे।
कलाकार उजय बज्राचार्यले भने कला सिर्जनामा अहिले सुखद रहेको बताए। उनका अनुसार प्रविधि र एआईका कारण सिर्जनामा चुनौति थपिएको छ।
यसमा कलाकारहरुले मौलिकताको पक्षमा ध्यान दिन रहेको उनको भनाई थियो। त्यस्तै, परम्परागत चित्रकला विभाग प्रमुख लामाले पौभा र थाङ्का कला विकासका लागि प्रतिष्ठानले समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताए। उनले भने, ‘पौभा, थाङ्का जस्ता परम्परागत कलाको विकास र विस्तारका लागि हामीले कलाकार, व्यवसायी सबैलाई समेट्ने प्रयास गरिरहेका छौँ। कलाको सिर्जना र व्यवसायिक पाटो दुवै राम्रो होस् भन्ने हाम्रो मनोसाय हो।’
परम्परागत कलाको विस्तारको लागि समय सापेक्ष चल्नुपर्ने प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए। उनका अनुसार परम्परागत कलाको जुन मौलिक दर्शन र विचारलाई परिस्कृत नगरीकन हामी समय अनुसार चल्न सक्छौं। आगामी दिनमा कला विकासका लागि प्रतिष्ठान सहकार्यको तयार भएको उनले सुनाए। कार्यक्रममा प्रतिष्ठानका प्राज्ञहरु, अग्रज कलाकार तथा पत्रकारहरु सहभागी थिए।
।