‘नेपालको कानुन, जसले बनाउँछ उसैले जानुन’ सेतै कपाल फुलेका मुक्ति काका शंखपार्कमा रहेको शिवमन्दिर नजिकै फलामे कुर्सीमा बसेर भन्दै थिए । तुवाँलोझैं वायुप्रदूषणले काठमाडौंको वातावरण निकै नै प्रदूषित थियो । त्यही प्रदूषित वातावरणको बीचमा पनि केही ज्येष्ठ नागरिक पार्कमा टहलिन पुगेका थिए । सधैंझैं ज्येष्ठ नागरिकहरु शिवमन्दिरको छेउमा बसेर आ–आफ्ना तीता मिठा अनुभव सुनाउने गर्दथे ।आज भने मुक्ति काकाले कानुनका कुरा गरेपछि दाहाल मामा भन्दै थिए । ‘होइन हो मुक्ति भाञ्जा आज निकै चिन्तित देख्छु के भो र ?’
मुक्तिले जवाफ फर्काए, ‘के हुनु र मामा सुन्नुभएन समाचार ? त्यो रविलाई फेरि जेल हाले छन् !’ कहिले यता कहिले उता कहिले यो आरोप कहिले त्यो आरोप गर्न पनि कति सकेका हुन् क्या ! दाहाल मामाले कति बुझेका थिए वा थिएनन् प्याच्चै भनिदिए । ‘सहकारी ठगेपछि त जेल हाल्नैप¥यो नि । जनताले एक–एक रुपैयाँ गरेर कमाएर बचत गरेको पैसा यसरी मनलाग्दी गर्न पाइन्छ ?’
मामाको कुरा अलि चित्त बुझेन मुक्ति काकालाई, अलि झर्केजस्तै गरी भने, ‘मामाले खासै कुरा बुझ्नुभएको रहेन छ । यो त सबै त्यो रविलाई फसाउने खेलमात्र हो ।’‘ल भन्नुस् त साँच्चै नै ठगलाई नै समाउने हो भने त सहकारीको अध्यक्ष जिबी राईलाई समाउनुपर्छ । जसले जनताबाट बर्षौंदेखि पैसा असुलेर बसेको थियो उसलाईचाहिँ बेपत्ता भन्दै नखोज्ने ? अनि विचरा दुई–चार महिना सहकारीसँग जोडिएको मान्छेचाहिँ कसरी अपराधी हुन्छ के ? तपाईं त उही कानुनमै जिन्दगी बिताउनुभाको मान्छे ल भन्नुस् त हो कि होइन ?’
‘खै के हो, के हो । यसो हेर्दा चेक चलाएकाले रवि दोषी, नभए र कसरी दोषीजस्तो पनि लाग्छ हो मुक्ति भाञ्जा !’बल्ल मुक्तिको अनुहारमा खुसी देखियो । ‘हो, मैले भनेको पनि त्यही हो मामा । रविलाई जुनसुकै हालतमा पनि जेल कोच्न पाए हुन्छ भन्ने सोचले गर्दा यस्तो भएको हो,बुझ्नु भो ?,’ मुक्तिले भने ।‘त्यस्तो त हुन्न । कागज प्रमाणले गर्दा दोषी करार गर्ने हो के भाञ्जा । आरोप लगाउँदैमा कहाँ हुन्छ र ? अनुसन्धान गर्ने सुरक्षा निकायले सबै कुरा जाँचपड्ताल नगरी त्यसै कहाँ पक्राउ गर्छन र ?’
‘ल मामा गर्छ । यो नेपाल हो । यहाँ शक्ति हुनेले जे पनि गर्न पाउँछ । बरू भन्नुस् त मामा, त्यो कानुन किन्न कति पैसा लाग्छ हो ? म पनि रविका लागि किनिदिन्छु ?’‘ह्या मुक्ति भाञ्जा, कानुन पनि किन्ने भन्ने कुरा हुन्छ ? न्याय सबैको पहुँचमा हुनुपर्छ । सबैले न्याय पाउनुपर्छ । राज्यले कसैलाई पनि अन्यायका दृष्टिकोणले हेर्नु हुँदैन ।’‘यी सब त भन्ने कुरामात्र हुन् मामा । राज्यले अन्याय भएका मानिसलाई न्याय दिन नै सकेको छैन । त्यसकारण पनि न्यायका लागि बहस गर्नुपर्ने अवस्था आएको छ । न्याय पाउने भए मध्यरातमा त्यो रविको घरमा गएर जबर्जस्ती गर्न पाइन्छ ? छैन मामा छैन यो देशमा न्याय भन्ने जिनिश नै छैन !’
मुक्ति काका न्यायका लागि जसरी पनि लड्नुपर्छ भन्नेमा लागेका छन् । तर लडिदिने कसले ? बोलिदिने कसले ? लेखिदिने कसले ? सबका सब द्रव्य पिचास बनेका छन् । पैसाका लागि यिनीहरुले जे पनि गर्न सक्छन् !दाहाल मामा मुक्ति भाञ्जाको कुरा सुनेर दंग पर्छन् । नपरुन् पनि किन, ५८ वर्ष न्याय सेवामा बसेर काम गर्दा कहिल्यै वास्तविक पीडितले न्याय पाएको उनले देखेनन् । बरु अहिले पो प्रविधिको जमाना छ । हल्लाखल्ला भइहाल्छ । सामाजिक सञ्जाल नहुँदो हो त केही ठूला सञ्चारमाध्यमले जे लेखिदियो वा देखाइदियो त्यसैमा विश्वास गर्नुपर्ने । त्यतिमात्र हो ।
‘न्यायालयमा श्रीमान्हरु आदेश दिनुहुन्छ । उहाँका कारिन्दाहरुले मिलाइमिलाइ द्रव्यमा आँखा गाड्नुहुन्छ । विनाद्रव्य कमैले मात्र न्याय पाउँछन् । किनकि श्रीमान् (न्यायाधीश) बन्नका लागि पनि त ठूलो लगानी पो गरेको छ । अब त्यही लगानी उठाउन नसक्ने भए त के को लागि लगानी गर्नु र !’‘न्यायाधीश पार्टीनिकट, सचिव पार्टीनिकट, वकिल पार्टीनिकट, पत्रकार पार्टीनिकट । भएभरका सबै कुनै न कुनै दलसँग आबद्ध । अनि कानुन बिक्री हुँदैन भनेर कसैले पत्याउँछ मामा ?’
‘तिमीले भनेको कुरा त ठीकै हो मुक्ति भाञ्जा तर अहिलेसम्म नै त्यसरी चलिरहेको छ । तिमी हामीले यो उमेरसम्म सरकारी पदमा बस्दा देश बिग्रिन लाग्यो भनेर कहिल्यै भनेनौं क्यार ! अब पेन्सन खाइरहेको बेलामा किन टेन्सन लिने क्या !,’ दाहाल मामाले भने । मामाको कुरा सुनेर मुक्ति भाञ्जा अझै उत्तिजित हुँदै– हामीले टेन्सन नलिए कसले लिन्छ ? यो देश हाम्रो पनि हो पुर्खाले जस्तो छाडेर गएका थिए भावी पुस्तालाई त्यस्तै छाडेर जानु छ । त्यसैले टेन्सन लिएको हुँ क्या ! तर मामा मलाई भन्नुस् कानुन बिक्री हुन्छ ।’
मामा अक्क न वक्क पर्छन् । भाञ्जाको उत्तर मामासँगै छैन । त्यही भएर पनि भाञ्जा अझै भन्छन्– मामा भन्नुस् न के कानुन किनौं । कति रुकम पर्दो रहेछ त्यो पनि बुझौं । आखिर मुद्दा, मामिला वा छोडपत्र होस् कि मेलमिलाप कतै नै कतै उही द्रव्य नै जोडिएकाले कानुन किनिराखौं । मुक्ति भाञ्जाले पेल्न थालेपछि दाहाल मामा पनि चुप ! ५८ वर्ष न्याय सेवामा काम गरेको पनि बालुवा पानीबराबर नै भयो । कानुन किनिन्छ । कानुन बिक्री हुन्छ । अर्थात् न्यायमा आर्थिक अनियमितता पक्कै भएको हो । हुन्छ पनि ।
त्यसैले आज मुक्ति भाञ्जाको एउटै रटान छ– जसरी हुन्छ कानुन किन्ने हो । जति परोस् किन्ने हो । मध्यरातमा रविलाई समातेर लग्यो कानुनकै खेल हो । शक्ति र सत्तामा रहेका र तिनका आसेपासेलाई नलाग्ने अरु सबैलाई लाग्ने । हे नेपालको कानुन, तँ कतिमा बिक्री हुन्छस् ? तेरो मूल्य कति हो ? जति भन्छस् त्यत्तिमा नै किन्न सक्छु । त्यसैले दाहाल मामा भनिदिनुस न प्लिज... कानुन कति पैसाका किन्न पाइन्छ ?’मुक्ति अड्डी कसेको कस्यै छन् । मुक्तिको अड्डीले काम गरोस् । लुकेर होइन फुकेर नै भन्छन् कानुनको मूल्य कति हो ?