चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी हौसिएको देखिन्छ । तीनकुनेमा राप्रपाकै सहयोगमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलन हिंसात्मकमात्र बनेन व्यक्तिको सम्पत्ति तोडफोडमासमेत उत्रियो आन्दोलनकारी । आन्दोलनको ‘चेन अफ कमाण्ड’ नहुँदा प्रदर्शनकारी तितरवितर बने । कसको निर्देशन वा आग्रह मान्ने कुरै नभएपछि प्रदर्शनकारीले पार्टी कार्यालयदेखि भाटभटेनी र जडीबुटी कारखानासमेत निशाना बनाए । जसलाई नियन्त्रणमा लिन प्रहरीले ५८ राउण्ड गोली चलाउनुपर्यो । जसकारण २० जना घाइते भए भने गोली लागेर एक जनाको मृत्यु भयो भने एक जना पत्रकारको जलेर मृत्यु भयो ।
यो दंगा नियन्त्रण गर्न प्रशासनले कफ्र्यु नै लगाउनुपर्यो । आन्दोलनको नेतृत्व गरेका प्रसाईं अझै फरार छन् । दंगा भड्काउन उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई हिरासतमै राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पछिल्लो अभिव्यक्ति सुन्दा उनी यही आन्दोलनको परिणामबाट हौसिएझैं सुनिन्छ ।
लिङ्देनले आन्दोलन आक्रामक बनाउने योजना बनाएको संकेत गरे । यस कार्यक्रमबारे उनले आफू पनि थुनिए आन्दोलन निर्णायक भएर जाने दाबी गरेका छन् । सोमबार लिङ्देनले भने– यदि मलाई थुनियो भने मविना पनि आन्दोलन अघि बढेर जान्छ । हाम्रा पार्टीका नेताहरु थुनिँदा आन्दोलनलाई बल पुगेको छ । मलाई राखियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ ।
हिन्दूराष्ट्र, राजसंस्थाको पुनस्र्थापना तथा प्रदेश खारेजी हुनुपर्ने मागमा राप्रपा छ । उसले यही मुद्दा लिएर सदनदेखि सडकमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । यही मुद्दामा तीनकुनेमा उत्रिएको मिश्र र राणा थुनिँदा अहिलेको आन्दोलनलाई बल मिलेको भन्दै आफू थुनिए आन्दोलन अझ निर्णायक भएर जाने तर्क राम्रो हैन । लिङ्देनको अभिव्यक्तिले आन्दोलन कतै अराजकतातिर जाने त हैन भनेर अनुमान लगाउन सकिन्छ ।
यस्तो हुँदा प्रहरीले बल लगाउनुपर्ने अवस्था आउन सक्छ । यो क्षेत्रमा पहिले प्रसाईंले प्रदर्शन गरिसकेका छन् । सोमबार साँझा लिङ्देन यो क्षेत्रको निरीक्षणमा पुगे । यो क्षेत्रमा परीक्षा नियन्त्रण कार्यालयदेखि त्रिभुवन विश्वविद्यालयसम्म छ । यसैगरी नेपाली कांग्रेसको कार्यालय पनि यहाँबाट नजिकै पर्छ । प्रशासन र आन्दोलनकारी पक्षबाट संयमता नअपनाए दुर्घटना नदोहोरिएला भन्न सकिन्न । त्यसैले दुवै पक्षबाट संयमता अपनाएर आन्दोलन शान्तिपूर्ण तरिकाले सम्पन्न होस् ।