काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रशासनिक भवन खरिद वर्तमान कार्यसमितिको प्रमुख उपलब्धि भएको बताएको छ । राजेन्द्र भण्डारी नेतृत्वको कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गरेको हो ।
यही चैत २९ मा हुने निर्वाचनसहितको ३०औं साधारणसभाबाट संघको नयाँ नेतृत्व चयन हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक वर्तमान कार्यसमितिको उपलब्धिमा प्रशासनिक भवन खरिदलाई प्रमुख उपलब्धिको रुपमा सारिएको हो । संघले केही महिनाअघिमात्र काठमाडौं महानगरपालिका–७ स्थित सिफलमा भवन खरिद गरेको थियो । उक्त प्रशानिक भवनको उद्घाटन सोमबारमात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका हुन् ।
‘संघले आफू स्थापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पायो । करिब एक हजार व्यवसायीको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु वर्तमान कार्यसमितिको प्रमुख उपलब्धि हो,’ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भने । यसबाहेक संघले वैदेशिक रोजगार क्षेत्रको समस्या समाधानका लागि नीतिगत सुधार र व्यवसायीको हक हितका लागि प्रयत्न तथा सामाजिक उत्तरदायित्वका कार्य गरिएको उनले बताए ।
‘वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, व्यासायिक र पारदर्शी बनाउँदै यसलाई गर्व गर्न लायक व्यवसाय बनाउन हामीले भरपुर प्रयास गर्यौं,’ अध्यक्ष भण्डारीले भने, ‘तथापि, हामीले उठाएका केही एजेण्डाहरु प्रयास गर्दागर्दै पनि टुंगोमा पुर्याउन सकेका छैनौं । यसलाई अब आउने नयाँ नेतृत्वले पूरा गर्ने छ भन्ने हाम्रो विश्वास छ ।’ यो कार्यसमितिले २६ महिनाको कार्यकाल सम्पन्न गर्दै नेतृत्व हस्तान्तरण गर्न लागेको हो ।
संघले आफू स्थापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पायो । करिब एक हजार व्यवसायीको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु वर्तमान कार्यसमितिको प्रमुख उपलब्धि हो । वैदेशिक रोजगार व्यवसायलाई गर्व गर्न लायक व्यवसाय बनाउन हामीले भरपुर प्रयास गर्यौं ।
राजेन्द्र भण्डारी
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
अध्यक्ष भण्डारीले गुनासो सुनुवाइको संयन्त्रअन्तर्गत वैदेशिक रोजगार विभाग श्रमग्रामपरिसरमा उजुरी, गुनासो सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण गरी व्यवसायी तथा कामदारको ३४ सय उजुरी÷गुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान गरिएको बताए । यसैगरी व्यवसायीहरुमाझ सबैभन्दा पेचिलो बनेको विषय सय संख्याको बाध्यात्मक प्रावधानलाई दुई पटकसम्म बाधा अड्काउ फुकाउने काम गराउन सफल भएको विषय उपलब्धिको सूचीमा छ ।
यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पुर्याइएको अध्यक्ष भण्डारीले बताए । एक वर्षमा न्यूनतम १०० जना कामदार पठाउनुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण कतिपय म्यानपावर कम्पनी नवीकरणसमेत हुन नसकेको बताइएको छ । यसलाई हटाउन संघले प्रभावकारी भूमिका खेलेको भण्डारीको दाबी छ ।
वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउन पनि वर्तमान कार्यसमिति सफल भएको उनले बताए । वैदेशिक रोजगार ऐनअनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत ब्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याइएको, युरोपको मागपत्र प्रमाणीकरण र साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पुर्याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा भूमिका खेलेको, विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पँुजी स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी गरेकोलगायत वर्तमान कार्यसमितिको उपलब्धि सूचीमा उल्लेख गरिएको छ ।
वर्तमान कार्यसमितिले आफ्नो कार्यकालको उपलब्धिसँगै संघको आगामी कार्ययोजनासमेत अघि सारेको छ । अध्यक्ष भण्डारीले आगामी नेतृत्वले सेवा शुल्क निर्धारण, मागपत्र प्रमाणीकरण, आकर्षक गन्तव्यमा व्यवसायीको पहुँच बढाउँदै सम्मानित र व्यवस्थित वैदेशिक रोजगार बनाउन काम गर्नुपर्ने औंल्याए ।
आगामी कार्ययोजनामा संघले समयसापेक्ष ऐन नियम परिमार्जनमा पहल गर्नुपर्ने, सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण, विभिन्न नयाँ गन्तव्य मुलुकहरुसँग श्रम सम्झौताका लागि पहल गर्नुपर्ने, मागपत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्नेलगायत सातवटा बुँदा प्रस्ताव गरिएको छ ।
यी हुन् वर्तमान कार्यसमितिका उपलब्धि
- वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै प्रशासनिक भवन खरिद
- गुनासो सुनुवाइको संयन्त्रअन्तर्गत वैदेशिक रोजगार विभाग श्रमग्रामपरिसरमा उजुरी, गुनासो सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण
- व्यवसायी तथा कामदारको ३४ सय उजुरी÷गुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान
- सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्य तथा संवादलाई सुमधुर बनाउने कार्य
- क्षेत्रगत सुधार, नीतिगत सुधार र सामाजिक उत्तरदायित्वका कामलाई प्रमुख प्राथमिकता दिएर काम गरिएको
- सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यक्रम
- युएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, युएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको
- विदेशमा रहेका नेपाली कुटनीतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्र्तक्रिया
- अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएर व्यवसायीको आवाज उठाइएको
- सय संख्याको बाध्यात्मक प्रावधानलाई दुई पटकसम्म बाधा अड्काउ फुकाउने काम गराइएको र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पुर्याइएको
- वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउनुका साथै हालसालै मात्र मलेसिया रोजगारमा गएका कामदारलाई ४५ डलर रोजगारदातामार्फत लाद्न खोजेकोमा यसको विरुद्ध आन्दोलन गरेर यसलाई हटाइएको
- वैदेशिक रोजगार ऐनअनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत ब्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याइएको
- युरोपको मागपत्र प्रमाणीकरण खुलाउन साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पुर्याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा भूमिका खेलेको
- व्यवसायीको मृत्यु तथा बिरामी भएमा उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने व्यवस्था सुरु
- विभिन्न परिबन्धमा परेर साउदी अरबको जेलमा परेका व्यवसायी वीरेन्द्र साह तेलीको रिहाइका लागि पैरवी
- सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समस्या पर्दा सहयोग तथा स्वदेशमै प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग
- विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पँुजी स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी
- संघमा सदस्यता आबद्धता बढाएर झण्डै एक हजार सदस्य बनाइएको
- व्यवसायीमाथि हुने आक्रमणमा सुरक्षाको प्रत्याभूत गराउन, व्यवसायीहरुलाई एकताबद्ध बनाउन र सबै व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाइएको