काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आउन तीन दिनमात्रै बाँकी छँदा नरेश गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले चुनावी अभियानलाई तीव्र बनाएको छ । आइतबार बसुन्धारामा चुनावीसभा आयोजना गरेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको यो समूहले सोमबार बत्तीसपुतली र मंगलबार धुम्बाराहीमा चुनावी सभा सम्पन्न गरेको छ ।
व्यवसायीहरुलाई आफ्नो एजेण्डामा विश्वस्त तुल्याउन गेलाल समूह निरन्तर लागेको देखिन्छ । चुनावीसभाबाहेक व्यवसायीहरुको कार्यालयमै पुगेर पनि आफ्नो पक्षमा माहोल बनाउन यो समूह सक्रिय बनेको छ । नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको यो प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध रहेका छन् ।
गेलाल नेतृत्वको यो प्यानलले वैदेशिक रोजगार व्यवसायमा हुने सिण्डिकेटलाई निषेध गर्ने प्रतिबद्धता जनाएको छ । ‘करिब ९०० व्यवसायीले २५ सालदेखि गरिरहेको मलेसियाको व्यवसायलाई २०–२५ जना माफियाहरूले सिण्डिकेट गरी बाँकÞी ८७५ व्यवसायीको व्यवसाय पूर्णरूपमा धराशायी बनाउने प्रपञ्चलाई निषेध गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ संघको आगामी अध्यक्षका उम्मेदवार गेलालले भने ।
मागपत्र पत्रिकामा एक पटक प्रकाशित गरेपछि कम्तीमा तीन महिना पुनः प्रकाशित गर्नु नपर्ने तथा अन्तिम स्वीकृति भइसकेको कामदार वैदेशिक रोजगारमा जान नचाहेमा म्यानपावर कम्पनीको अनुरोधमा स्वीकृति रद्द गर्न मिल्ने व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । ‘कुनै पनि देशबाट तीन महिनाभित्र मेडिकल फेल भएर फर्केमा सम्बन्धित देशको मेडिकल प्रणालीमा हेरेर हाम्रो कार्यालयको अनुरोधमा अनफिट कामदारको स्वीकृत रद्द गरिदिने,’ गेलालको प्रतिबद्धता छ, ‘कामदारको जिमेल हाम्रो कार्यालयले रिसेट गर्न मिल्ने व्यवस्था गर्ने ।’
गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले ‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ लाई मुख्य चुनावी नारा बनाएको छ । वैदेशिक रोजगार व्यवसायलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्रलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना यो समूहले अघि सारेको छ । एचआर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक गेलालले आफू नेतृत्वको प्यानललाई जिताउन व्यवसायीहरुसँग अपिल गरे । चुनावीसभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धतापत्रमा उल्लिखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।
प्रगतिशील मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिवसमेत रहेका गेलालको नेतृत्वमा रहेको टिमको प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक प्रालिका मधुकर रिजाल र तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका बैकुण्ठप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । गेलालको प्यानलबाट महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका अनिल बोगटी र सचिवमा कालिञ्चोक एचआरकी धनमाया सिञ्जाली उम्मेदवार रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा माउन्टेन ग्रुपमा देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रालिका चन्द्रबहादुर लिम्बू, रियो ओभरसिजकी रमा खड्का, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पेयरका दिनेश बस्नेत, आयुष ओभरसिजका कामेश्वर शाह, सिगल ओभरसिजका छत्रबहादुर बस्नेत, डेस्टिनी ह्युमन रिसोर्सका युवराज देवकोटा र गल्फ एसिया म्यानपावरका राजेश यादव रहेका छन् ।संघको निर्वाचन यही चैत २९ मा हुँदै छ । संघको अध्यक्षका लागि गेलालसँग लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानलबाट भुवनसिंह गुरुङ प्रतिस्पर्धामा छन् ।