काठमाडौं– प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारविरुद्ध सडकमा जसरी असन्तुष्टि पोखिने क्रम छ सत्तारुढ दलभित्र पनि चुलिँदो छ असन्तुष्टि । गत असार मसान्तमा बनेको संयुक्त सरकारको विरुद्ध जनआक्रोश बढ्दा विभिन्न आन्दोलन जारी छ ।
विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारविरुद्ध सडकमा उत्रँदा सरकारमै रहेको दलका नेताहरुले पनि सरकारको कामप्रति असन्तुष्टि पोख्न थालेका छन् । मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरु नसच्चिए बालुवाटार घेर्ने चेतावनी दिए । ‘नसुध्रने हो भने हामी पनि गाली चलाउँछौं त भन्दिनँ तर बालुवाटार घेरेर भात–पानी बन्द गर्न सक्छौं,’ लिङ्देनले भने । उनले देश अहिले सबै हिसाबले भद्रगोल अवस्थामा रहेको तर्क गरे ।
दुई ठूला पार्टी मिलेर देश राम्रोसँग चलाउनुपर्छ भन्ने पक्षमा पनि थिए तर सरकार जसरी चल्नु पर्दथ्यो त्यसरी चल्न सकेन ।
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस
अध्यक्ष लिङ्देनले शान्तिपूर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको भन्दै सत्ता सधैंभरि आफ्नो हातमा हुन्छ भनेर शीर्ष दलका नेताहरुले सोचे त्यो गलत हुने तर्क गरे । ‘सत्ता सधैंभरि तपाईंको हातमा हुँदैन, जनता गोठको गाईवस्तु होइनन्,’ लिङ्देनले भने ।राप्रपाले बालुवाटार घेर्ने चेतावनी दिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने सिरहा पुगेर सरकारको विरोध गर्नेहरु थाकिसकेको बताउँदै थिए । एमालेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सिरहा बजार पुगेका ओलीले सधैंझैं यो सरकार अहिल्यै नढल्ने दाबी गरे । ‘यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुत सरकार हो,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले आन्दोलनलाई वितण्डा भन्दै हिंसा मच्चाउनेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । ‘वितण्डा मच्चाएर परिवर्तन ल्याउँछौं भनेर दुई–चार हजार मान्छेहरूको वितण्डा, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन । स्वीकार्य हुँदैन । यो अत्यन्तै गलत क्रियाकलाप हो । जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउँछ । यो सरकारले कसैले आग्रह पूर्वाग्रह राखेर कारबाही गर्दैन,’ मधेस प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले थपे, ‘यी दुई दलले अठोट गरेर बनेको सरकार हो । ढल्ने त कुरै छैन । हल्लिँदा पनि हल्लिँदैन ।’
नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा गर्यो । २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपथ्र्यो, त्यो परिणाम आउन सकेन । नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस
पछिल्लो समय सरकारविरुद्ध अभियान चलाइरहेका अभियन्ता र नेताहरुलाई सरकारले विभिन्न किसिमले त्रसित पारिसकेको छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाइएको छ भने जनप्रतिनिधिलाई एक बनाएर काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई लगभग विफल बनाइदिएका छन्, ओलीले । यता राजावादी कित्ता समाउँदै सरकारविरोधी अभियान चलाइरहेका दुर्गा प्रसाईंको आन्दोलनलाई हिंसात्मक करार गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणलाई थुनामा पठाएका छन् । प्रसाईं फरार छन् । यहीबेला प्रतिपक्षी स्वर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि थुनामा पुगेका छन् ।
ओलीले सरकारविरोधी स्वर कमजोर हुँदै आएको दाबी गरे पनि सत्तारुढ दलकै नेता महामन्त्री गगन थापाले सरकारले काम नगर्दा जनतामा असन्तुष्टि बढेको स्वीकार गरेका छन् । मंगलबार गुल्मी पुगेर महामन्त्री थापाले जनताले अपेक्षा गरेअनुसारको ‘डेलिभरी’ सरकारले दिन नसक्दा असन्तुष्टि बढेको बताए । ‘नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा गर्यो । २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपथ्र्यो, त्यो परिणाम आउन सकेन । नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ,’ थापाले भने ।
थापाले सरकारले गरेको कामको गति नै नमिलेको तर्क गरे । ‘कामको गति मिलिरहेको छैन । सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन । म जुन ठाउँमा बसेर काम गरिरहेको छु,’ थापाले भने । थापा अहिले संयुक्त सरकार सञ्चालनको संयन्त्रमा पनि छन् । आफूले यो संयन्त्रमा सरकारको कामबारे सचेत पार्दा पनि कुनै सुनुवाइ नभएको बताउँछन् ।
यो सरकार चुनावसम्म टसमस हुँदैन । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यी दुई दलले अठोट गरेर बनेको सरकार हो । ढल्ने त कुरै छैन । हल्लिँदा पनि हल्लिँदैन ।
केपी शर्मा ओली
प्रधानमन्त्री
सरकारको विरोध गर्ने दल उनीमात्र हैनन्, कांग्रेस नेता डा. शेखर कोइरालाले निरन्तर विरोध जनाइरहेका छन् । संस्थापनइतरका नेता कोइरालाले मंगलबार चितवन पुगेर दुई ठूला पार्टीले चलाएको सरकारमा बिचौलियाको बिगबिगी हुन थालेको बताए । ‘दुई ठूला पार्टी मिलेर देश राम्रोसँग चलाउनुपर्छ भन्ने पक्षमा पनि थिए तर सरकार जसरी चल्नु पर्दथ्यो त्यसरी चल्न सकेन,’ डा. कोइरालाले भने ।
आइतबारमात्र कोइारालाले सुशासन दिने र भ्रष्टाचार न्यूनीकरण गर्ने आश्वासन दिए पनि सरकारले काम नै अगाडि नबढाएको तर्क गरे । ‘यो सरकार बनाउँदा एउटा कल्पना गरिएको थियो, त्यो कल्पना हामीले अगाडि बढाउन सकेजस्तो देखिएन,’ कोइरालाले भने ।