काठमाडौं- अनुसन्धानकर्ता रवीन्द्र तामाङले तेमाल जात्राको अवसरमा राज्यले दुई दिन सार्वजनिक बिदा दिनुपर्ने सुझाव दिएका छन् । काठमाडौंको स्वयुम्भूमा तामाङ पत्रकार संघले आयोजना गरेको अन्तरक्रियामा तेमाल जात्राबारे प्रस्तुति दिँदै तामाङ संस्कृतिका अनुसन्धानकर्ता रवीन्द्र तामाङले यस्तो बताएका हुन् ।
उनले तेमाल नेपालकै पहिलो एतिहासिक जात्रा भएको दाबी गर्दै सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताए । 'नेपालको नै पहिलो जात्रा तेमाल जात्रा हो। स्वयम्भूको उत्पत्ति भएको जात्रा हो' तामाङले भने, 'यस्तो उज्यालोको उत्सवमा दुई दिन बिदा दिनुपर्छ सरकारले। तामाङ समुदाय कहाँ अल्झेर बसेको होला यस विषयमा ?'
उनको प्रस्तुतिमा लेखक मोक्तान दुववाङ्गेल र पत्रकार मायालु ङेसुरले टिप्पणी गरेका थिए । लेखक मोक्तानले इतिहास भनेको कल्पना भएकोले यसलाई वैज्ञानिक आधारसहित लेख्न नसके असफल हुने बताए। तेमाल जात्राको नामाकरण बौद्धकै बासिन्दाले गरेकाले नाममा विवाद निकाल्न नहुने उनको भनाई थियो।
पत्रकार एवं यसै विषयमा काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा अनुसन्धान थालेकी ङेसुरले तामाङ जातिको पर्वहरु डिजिटलाइज्ट हुन नसकेको धारणा राखिन्। 'हाम्रो जातजाति मौखिक इतिहासमा आधारित छ। धेरैको त अब गुगल गर्दा भेटिन्छ। रिसर्च गर्दा १५ भन्दा बढी रिफ्रेन्स चाहिने रहेछ,' ङेसुरले भनिन्, 'तर यो जात्राबारे लेखेको एकदम कम भेटियो।'
अनुसन्धानकर्ता अजितमान तामाङले सांस्कृतिक, धार्मिक, एतिहासिक, भौगोलिक हिसाबमा आएको यस जात्रामा मिठा खानेकुरासमेत खाइने बताए । तेमाल जात्रा काठमाडौंका विभिन्न भागमा मनाइने र अरु जातिले पनि मनाउने उनको भनाई थियो।
अन्तरराष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले यो पर्व तामाङहरुको पहिचान भएको बताए। 'यो कतैबाट ल्याएको पर्व हैन। तामाङ पहिचानको प्रमुख आधार नै तेमाल जात्रा हो,' लामाले भने। तेमाल जात्रालाई हिन्दुहरुकोहरुको विभिन्न धाम र तिर्थ, इस्लामको मक्कामदिना र इसाईको जेरुसेलमजस्तै बनाउन सकिने उनले बताए।
पर्यटन व्यवसायी एवं तामाङ रिमठिम पर्यटन समाजकी अध्यक्ष सरिता लामाले आफूहरुले पर्यटकका लागि तेमाल जात्राको पूर्वाधार चाहिने बताइन्। 'तेमाल जात्राको ट्रेल र पूर्वाधार तयार भए हामीले टुरिस्टलाई हाम्रो हेरिटेज घुमाउन सक्छौ। यसका लागि पूर्वाधार पनि सफा हुनुपर्छ,' लामाले भनिन्।
चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुने तेमाल जात्रा भोलिपल्ट पूर्णिमाको दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझपख आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुने प्राचीन परम्परा छ। यसपटक यो पर्व चैत २९ गते र ३० गते मनाउने भएको छ। यो जात्रा मनाउन बागमती प्रदेशका तामाङहरु काठमाडौं आउने गर्दछन्। बौद्ध तामाङ कल्याण गुठीले बौद्ध क्षेत्रमा यो जात्राका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
स्वयम्भू क्षेत्रमा टुंगिने भए पनि यो क्षेत्रमा स्थायी खालको व्यवस्थापन समिति नबन्दा जात्रामा साँस्कृतिक अतिक्रमण शुरु भएको काठमाडौं वडा १५ का वडाध्यक्ष इश्वरमान डंगोलले बताए । 'जात्रा एकदमै एतिहासिक हो। तर स्थायी खालको मुल व्यवस्थापन समिति भएन,' वडाध्यक्ष डंगोलले भने। तेमाल जात्रामा तामाङ मौलिक गीत, फापरे गीत गाउनुपर्नेमा डिजे गीतहरुले अतिक्रमण भइरहेको डंगोलको भनाई थियो। यस्तो विकृति रोक्न तामाङ समुदाय नै लाग्नुपर्ने उनको सुझाव थियो।
तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तिर्थमान बलले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव मिक्साङ वाइबाले सञ्चालन गरेकी थिइन् ।