हिजोआज सरकारको नेतृत्वमा रहेकाहरु भाषणबाजीमै मस्त सुनिन्छन् । यो सरकार ढल्दैन भन्दै भाषण गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी बनेको छ । विपक्षी दलका नेता पुष्पकमल दाहाल सरकार अहिल्यै ढल्ने ढिपीका साथ भाषण गर्छन् । सत्तापक्षकै कांग्रेसका नेताहरु प्रधानमन्त्री ओलीले धेरै घुमफिर गरिरहेको भाषण गर्छन् ।
यसो हेर्दा एकले अर्कोलाई आलोचना र काउन्टर भाषण दिँदा रमाइलै सुनिन्छ । तर सरकारकै नेतृत्वमा बसेकाहरुले काम नगरी यसरी भाषण दिँदा आफ्नो समय त खेर फाले फाले, सर्वसाधारणको समय पनि कुरा काट्न लगाएर खेर फालिरहेका छन् । घुमिफिरी नेतृत्वमा अहिले तीन नेताहरु ओली, शेरबहादुर देउवा र दाहाल नै पुगिरहेका छन् । ओली, देउवा र दाहालको भाषण पछिल्लो दुई दशकयता उही छ । नयाँ एजेण्डा केही छैन । यस्तै भाषणबाजी र विकासको भाकामै बित्छ नेताहरुको काम ।
सानातिना कार्यक्रमको उद्घाटन गर्न हेलिकप्टर चार्टर गर्ने, पार्टीको कार्यक्रममा पुगेर कार्यकर्ता खुसी पार्ने अहिलेको मन्त्रीहरुको दैनिकी बनेको छ । जसका कारण पनि सर्वसाधारण व्यवस्थाविरुद्धै आक्रोशित हुन थालेका हुन् । हरेक स्थानमा अनियमितता र असन्तुष्टि चुलिँदो छ । सरकारी कार्यालय होस् या निजी, सुशासनमा प्रतिबद्ध सरकारले सुशासन दिन सकेको छैन । ढिलासुस्ती चर्को छ । व्यवसायीलाई काम गर्न मुस्किल बनाइदिएको छ । यही कारण पनि देश छाड्को लर्को छ । सरकार भने रेमिट्यान्समा रमाउँदै फेरि भाषणबाजीमा लागिरहेको देखिन्छ ।
भाषणबाजीकै कारण नेताहरु चर्चामा आएको देखेर युवाहरुको चाहना पनि त्यतैतिर ढल्केको देखिन्छ । तर फुस्रा भाषणले देश बन्दैन भनेर कतिपयलाई जब थाहा हुन्छ, तब उनीहरु राजनीतिको भूमरीमा परिसकेको हुन्छ । यसरी राजनीतिको भूमरीमा परेका नेताहरु आजभन्दा भोलि बढी भाषण गर्न मन पराउँछन् । चर्चापरिचर्चा गरिदिने समाज छँदै छ भनेर नेताहरु पनि मक्ख छन् । तर अब यसरी भाषणबाजी गरेर चल्दैन । सर्वसाधारणमा एक प्रकारको चेत बढ्दो छ । त्यसैले अब सरकारले काममा ध्यान देओस् ।
परिणाम आजको आवश्यकता हो । अनुसन्धान, योजना, कार्यतालिका र कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ । सत्तामा बसेर जनताको करबाट तलब खाएर पार्टीको कार्यक्रममा पुग्दै भाषणबाजीमा रमाउने हैन ।