- प्रधानमन्त्री ओली आफ्नो सरकार ढल्दै नढल्ने दाबी गर्दै भाषण गर्न मस्त
- सरकार सञ्चालनको संयन्त्रमा रहेका कांग्रेस महामन्त्री थापा भाषणबाटै प्रधानमन्त्री ओलीलाई भन्छन्– भाषण गर्न नजाऊ
काठमाडौं– विभिन्न कारण नागरिकमा असन्तुष्टि बढ्दो छ । शीर्ष दलका शीर्ष नेताहरु भने प्रत्येक दिनजसो कामको साटो भाषणबाजीमै व्यस्त छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार ढल्दै नढल्ने दाबी गर्दै भाषण गर्न मस्त छन् ।
सरकार सञ्चालनको संयन्त्रमा रहेका कांग्रेसका महामन्त्री गगन थापा भाषणबाटै प्रधानमन्त्री ओलीलाई भन्छन्– भाषण गर्न नजाऊ । ‘अहिलेको सरकारको गति पुगेको छैन । हामी भन्छौं, तिमी युद्धको मनोविज्ञानले १८ घण्टा काम गर, २० घण्टा काम गर कहीँ उद्घाटन र भाषण गर्न नजाऊ,’ रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै बुधबार महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरु घुमेको देख्छु, मैले उहाँहरुलाई अनुरोध गरिरहेको छु, तपाईंहरु डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, तपाईंहरु काम गर्नुस् ।’
जोखिम आयो है भनेर राजावादीले खबरदारी गरेको हो । तर, त्यो सभा यस्तो अराजकतातिर गयो कि दलहरूलाई सुध्रिने दबाब कमजोर भएर गयो । तर सरकारको डेलिभरी छैन । डेलिभरी दिन नसकेपछि निराशा हुन्छ । विद्रोह हुन्छ ।
केशव दाहाल
राजनीतिक विश्लेषक
सुशासनमा प्रतिबद्ध रहेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेको नौ महिना पुगिसक्यो । तर आफूनिकटकालाई नियुक्ति दिने र विपक्षीलाई हटाउने काम सरकारले जारी राखेको छ । भ्रष्टाचार र अनियमितता नियन्त्रणमा सरकार सचेत हुनुपर्नेमा प्रधानमन्त्री ओली आफैं हल्का टिप्पणी गर्दै भन्छ्न्– भ्रष्टाचार चलिरहेको हुन सक्छ । बुधबार भएको नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
त्यसैले होला सामाजिक सञ्जाल होस् या चिया पसल, ओली सरकारमाथि तीव्र आक्रोश पोखेको सुनिन्छ । यही आक्रोशले गर्दा नै मानिसहरु पूर्वराजा ज्ञानेन्द्र शाहको अभियानदेखि दुर्गा प्रसाईंजस्ता विवादित व्यक्तिको पछि लागेका छन् । रोजगारी सिर्जना नगर्ने र सत्ताबाहेक नेताहरुले नीतिमा कुनै ध्यान नदिँदा ‘डेलिभरी’ नदिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
व्यवस्थाविरुद्ध जनआक्रोश बढिरहेको बेला सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको थियो । उनलाई हटाएको विरोधमा संसद् अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसमेत अहिले राजावादीको हिंसात्मक आन्दोलनका कारण सरकारको साथमा उभिएको देखिन्छ ।
प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरु घुमेको देख्छु, मैले उहाँहरुलाई अनुरोध गरिरहेको छु, तपाईंहरु डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, तपाईंहरु काम गर्नुस् ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस
यही क्रममा सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराललाई १३ महिनामै राजीनामा दिन बाध्य बनायो । बराल त्रिविको इतिहासमा पहिलोपटक प्रतिस्पर्धाबाट मेरिटोक्रेसीको आधारमा उपकुलपति बनेका थिए । यतिमात्र हैन अनुहार हेरेरै गभर्नर नियुक्तका लागि सरकारले पहिलोपटक उमेर हद हटाइदियो । गभर्नरका लागि चलखेल बढेपछि महाप्रसाद अधिकारी बिदा हुँदा पनि राष्ट्र बैंकले नेतृत्व पाउन सकेन । मन्त्रीहरू विदेश भ्रमणको होड र भाषणबाजीमै व्यस्त देखिन्छन् ।
यद्यपि अहिले सरकारविरोधीहरु एक किसिमले सरकारकै शब्दमा ‘तह’ लागेको अवस्था छ ।त्यही भएर होला प्रधानमन्त्री ओलीले मंगलबारमात्र यो सरकार चुनावसम्म टसमस नहुने ठोकुवा गरे । यतिमात्र हैन ओलीले सरकारविरोधीहरु थाकिसकेकोसमेत दाबी गरे । हुन पनि दुर्गा प्रसाईंको आन्दोलन तितरवितर भएसँगै ओलीले राहतको सास फेरिरहेका छन् ।
तर राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल राजनीतिक दल र अहिलेको शासनविरुद्ध र्को असन्तुष्टि कायमै रहेकोले सरकार र राजनीतिक नेतृत्व अझै नचेते त्यो निकै डरलाग्दो हुने बताउँछन् । ‘गणतन्त्रलाई धक्का दिन खोजेको प्रयासमा ब्रेक त लाग्यो,’ पोखरेल भन्छन्, ‘तर, सामसुम भइहाल्यो भनेर सरकार चुप लागेर बस्न हुन्न ।’
आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरूको पनि सहयोग चाहिन्छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री
राजनीतिक विश्लेषक केशव दाहाल पनि अहिले हाइसञ्चो मान्ने समय नभएको बताउँछन् । ‘जोखिम आयो है भनेर राजावादीले खबरदारी गरेको हो । तर, त्यो सभा यस्तो अराजकतातिर गयो कि दलहरूलाई सुध्रिने दबाब कमजोर भएर गयो,’ दाहाल भन्छन्, ‘तर डेलिभरी छैन । डेलिभरी दिन नसकेपछि निराशा हुन्छ । विद्रोह हुन्छ र त्यसपछि पलायन हुन्छ । यस्तो अराजकताको कुनै लय हुँदैन ।’
राजनीतिक दलको नेतृत्वमा पुरानै मान्छेहरुले पटक–पटक पद दोहो¥याएर सत्तामा बस्दा जनतामा असन्तुष्टि देखिएको प्राध्यापक पोखरेल बताउँछन् । राजनीतिक नेतृत्वमा बसेकाहरुले सामाजिक सञ्जालमा लेखेका विरोधका अक्षरहरु पढ्न सक्नुपर्ने उनको सुझाव छ ।
‘सामाजिक सञ्जालका भित्तामा मुर्दावाद भनेर लेखेको असन्तुष्टिका अक्षर पढ्न सक्नुप¥यो, देउवा होस् या ओलीले,’ पोखरेलले भने । राजनीतिक विश्लेषक दाहाल भने अहिलेको आक्रोश मत्थर बनाउन भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउँछन् । यसका लागि शक्तिशाली नागरिक आयोग गठन गर्नुपर्ने उनको सुझाव छ ।
गणतन्त्रलाई धक्का दिन खोजेको प्रयासमा ‘ब्रेक’ त लाग्यो तर सामसुम भइहाल्यो भनेर सरकार चुप लागेर बस्न हुन्न । सामाजिक सञ्जालका भित्तामा मुर्दावाद भनेर लेखेको असन्तुष्टिका अक्षर पढ्न सक्नुप¥यो, देउवा होस् या ओलीले ।
प्रा. कृष्ण पोखरेल
राजनीतिशास्त्री