वैदेशिक रोजगार नेपालीहरुको रहर होइन, बाध्यता बनेको छ । मुलुकमा रोजगारीको अवसर नहुँदा हरेक दिन करिब दुई हजारको हाराहारीमा युवाहरु विदेसिने गरेका छन् । यो क्रम तत्काल रोकिनेवाला छैन । किनकि राज्यले मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न सकिरहेको छैन ।
यसरी बाध्यात्मक कारण रोजगारीका लागि विदेसिएका युवाहरुले पठाउने विप्रेषणले मुलुकको त्राण धान्ने काम गरेको छ । कोभिड महामारी, भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक प्रकोपलगायतका कारण अर्थतन्त्र संकटमा परेको बेला विप्रेषणले निरन्तर टेको दिने काम गर्दै आएको छ । अहिले अर्थतन्त्रको एकतिहाइ अर्थात् करिब ३० प्रतिशत विप्रेषणले ओगटेको छ ।
अर्थतन्त्रमा यति योगदान गरिरहेको वैदेशिक रोजगार क्षेत्र आफैं भने समस्यै समस्यामा रुमल्लिएको अवस्था छ । विशेषगरी यस क्षेत्रमा कामदारमाथि हुने ठगीका घटनाहरुले यो क्षेत्रलाई बद्नाम गराउँदै आएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले जथाभावी रकम असुल्ने तर कामदारको सुरक्षामा ध्यान नदिने प्रवृत्तिका कारण यो व्यवसायलाई हेर्ने आम मानिसको नजर राम्रो छैन । कमाउधन्दामा लागेका कतिपय व्यवसायीका कारण समग्र व्यवसायी नराम्रो आरोपमा मुछिएका छन् । केही व्यवसायीहरुको ‘सिण्डिकेट’ ले पनि व्यवसायलाई बद्नाम गराइरहेको व्यवसायी स्वयं बताउँछन् ।
यहीबीच वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ । भुवनसिंह गुरुङ निर्वाचनमा नरेश गेलाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । गुरुङले यसअघि पनि संघको पदाधिकारी बनेर काम गरिसकेका छन् । तृतीय र द्वितीय उपाध्यक्ष भएर काम गरिसकेको अनुभवसहित उनी यसपालि अध्यक्ष बनेका हुन् ।
दुई दशकभन्दा बढी समयदेखि यो पेसामा संलग्न रहँदै आएका अनुभवी नेतृत्व संघले पाएको छ । उनले वैदेशिक रोजगार व्यवसायलाई शुद्धीकरण गर्ने उद्घोष गरेका छन् । विशेषगरी व्यवसायीका समस्या समाधान र यो व्यवसायभित्र रहेको एकाधिकार अन्त्य गर्न लागिपर्ने उनको प्रतिबद्धता छ ।
गुरुङको प्रतिबद्धतालाई व्यवसायीहरुले मतदानमार्फत अनुमोदन गरिदिएका छन् । अब काम गर्ने जिम्मा उनी नेतृत्वको कार्यसमितिको काँधमा आएको छ । प्रतिबद्धताअनुसार नतिजा दिन सक्लान् वा नसक्लान्, त्यो प्रतीक्षा गर्नुपर्ने छ । वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने जुन अहिलेको नजर छ, यसलाई बदल्ने अवसर गुरुङले पाएका छन् ।
यसका लागि संघले अब व्यवसायीको मात्र हितलाई जोड दिएर पुग्दैन । मुख्य विषय भनेको कामदारको हित हो । विदेशमा नेपाली कामदार गएर सम्मानित र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सके संघको गरिमा त बढ्ने छ नै, सँगै वैदेशिक रोजगार व्यवसायलाई हेर्ने आम मानिसको नजर अवश्य बदलिने छ ।