काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कार्यालयका अनुसार मोरङ घर भएका ईश्वर पोखरेललाई चैत २९ गते काठमाडौंबाट पक्राउ गरिएको छ । उनले क्यानाडा पठाइदिन्छु भनी एक जनाबाट १० लाख ५१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।
यसैगरी चैत ३० गते इलामका श्याम खड्कालाई ललितपुरबाट पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ । खड्काले रोजगारीका लागि बेलायत पठाइदिने प्रलोभन देखाएर दुई जनाबाट ३६ लाख रुपैयाँ ठगी गरेको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यालयले पक्राउ परेका दुवै आरोपीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको जानकारी दिएको छ ।