काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले सोमबार पदभार ग्रहण गरेको छ । नयाँ वर्षकै दिन पारेर नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङसहितको टिमले सिफलस्थित संघको कार्यालयमा पदभार ग्रहण गरेको हो ।
संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले नयाँ कार्यसमितिलाई कार्यालयमा स्वागत गर्दै पद हस्तान्तरण गरेका थिए । भण्डारीले संघको भवन खरिदका क्रममा असहमति जनाउनेलाई यही भवनमा स्वागत गर्न पाइयो भन्दै नवनिर्वाचित अध्यक्ष गुरुङलाई व्यंग्यसमेत गरे । उनले आफ्नै प्रशासनिक भवनमा बसेर काम गर्ने अवसर पाएको भन्दै नयाँ कार्यसमितिलाई बधाई दिए ।
सिण्डिकेट अन्त्य, सय संख्याको प्रावधान खारेजी, सेवा शुल्क परिमार्जन र व्यवसायीहरूको हितमा नीतिगत सुधार ल्याउने काममा मासिक क्यालेण्डर बनाएर काम गर्ने योजना छ ।
भुवनसिंह गुरुङ
अध्यक्ष
‘प्रतिपक्षमा हुँदा असहमत जनाउनुभयो तर पनि भवन किन्न सम्भव भयोे । त्यसकारण राम्रो कामका लागि विरोध गर्न नहुने शिक्षा पनि प्राप्त भएको छ,’ निवर्तमान अध्यक्ष भण्डारीले भने । उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगार महिला संघ गठन गर्न सफल भएको पनि बताए । आफू कार्यकक्षबाट बाहिरिए पनि आवश्यक परे संघलाई सहयोग गर्ने प्रतिबद्धतासमेत भण्डारीले जनाए ।
पदबहाली समारोहमा अध्यक्ष गुरुङले वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, मर्यादित र व्यवस्थित बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले सिण्डिकेट अन्त्य, सय संख्याको प्रावधान खारेजी, सेवा शुल्क परिमार्जन र व्यवसायीहरूको हितमा नीतिगत सुधार ल्याउने योजना सार्वजनिक गरे । गुरुङले साना व्यवसायीहरुको संरक्षण आफ्नो प्राथमिकतामा रहेकोसमेत उल्लेख गरे ।
संघको गएको चैत २९ गते सम्पन्न ३१औं साधारणसभाबाट गुरुङ नेतृत्वको कार्यसमिति निर्वाचित भएको हो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, लोकतान्त्रिक एसोसिएसनका असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्षमा उठेका नरेश गेलाललाई ६१ मतान्तरले पराजित गरेका थिए ।
प्रतिपक्षमा हुँदा असहमत जनाउनुभयो तर पनि भवन किन्न सम्भव भयोे । त्यसकारण राम्रो कामका लागि विरोध गर्न नहुने शिक्षा पनि प्राप्त भएको छ ।
राजेन्द्र भण्डारी
निवर्तमान अध्यक्ष
गुरुङले यसअघि द्वितीय उपाध्यक्ष पदमा रहेर संघमा काम गरिसकेका छन् । गुरुङ म्यानेजमेण्ट ओभर्सिज प्रालिका सञ्चालक गुरुङ दुई दशकभन्दा बढी समयदेखि यो पेसामा संलग्न छन् । उनले व्यवसायीको हितमा चौबीसै घण्टा खट्ने प्रतिबद्धता जनाएका थिए ।
गुरुङ नेतृत्वको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्षः बैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् ।
यसैगरी सदस्यहरुमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, राज लामा तामाङ, सुवर्ण लामा, हेमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य रहेका छन् ।