नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश दिए । पूर्वराजाको सो सन्देश हातमा मोबाइल हुनेहरुले तात्तातो नै हेरे । हुन त अहिले मोबाइल नहुने को नै पो छ र ? त्यही भएर पनि होला मोबाइलमा सामाजिक सञ्जालबाट आउने राम्रा कुरा त त्यस्तै हो गति छाडा कुरा हेर्नेहरुको संख्या एकैछिनमा लाखौं पुग्छ । शाहको सन्देश पनि त्यस्तै त्यस्तै भयो ।
सुदूर गाउँमा रहेका रामवीरे साइँला शाही पनि कतारबाट छोराले पठाइदिएको स्मार्टफोनमा शाहको भिडियो सन्देश हेरिरहेका थिए । भिडियो सन्देशमा २०८१ साल घनघोर निराशाजनक भएको र पृथ्वीपथ नै राजनीतिको मूल सार भएको भनेपछि रामवीरे साइँला शाही हेरेको हे¥यै भएछन् ।
स्मार्टफोनलाई यसो चलाउँदै गरेको रामवीरे साइँलाले एकातिर भिडियो सन्देश अर्कोतिर तीनकुनेको दनदनी बलेको घरको भिडियो पनि हेर्न भ्याइहाले । अनि त्यही भिडियोको छेउमा लेखेको अक्षर पनि कनिकुथी पढे । पछिल्लो समय सामाजिक सञ्जालमा पोस्ट्याएका भिडियो त्यसमा लेखिएका कुराले मान्छेलाई मनोरोगी बनाइदिइसकेको छ । जसरी क्यान्सरका रोगीहरु बढ्दै छन् त्यो भन्दा महामारीका रुपमा मनोरोगीहरुको संख्या पनि बढ्दै गइरहेका छन् ।
हिजो पञ्चायती शासन राम्रै भोगेका रामवीरे साइँला आफैं पनि बाइसे चौबिसे राज्य हुँदाका राजाका खलक भनेर नाक फुलाउँछन् । त्यही भएर होला माइला राजाले पृथ्वीपथ नै राजनीतिको सार हो भन्दा दंग परेछन् । उनले हत्त न पत्त काठमाडौंमा बसेको भतिजलाई फोन गरेर सोधे, ‘होइन हो भतिज यता मोबाइलमा त राजसंस्थाले के–के गर्छ भन्ने कुरा आयो त, के हो कुरा ?’
उता ठूलो बाजेको कुरा सुनेर भतिज भन्दै थिए, ‘गरिरहेको छ त, गाउँ सहर घुमेकै छ जयजयकार मनाकै छ । त्याँ भन्दा के चाहियो र ठूलो बाजे ।’रामवीर साइँलाले बुझेकी बुझेनन्, अँ अँ भने । यताबाट भतिजले उत्तर दियो, ‘सुन्नुस् ठूलो बाजे, पहिले एउटा राजा थिए । तम्रा गाउँमा अहिले कति राजा भए ? गनतन्त्रले धेरै राजा बनायो । देश सक्कायो रे ? त्यही भएर उ बेलाँ दिएको नासो फेरि जनतासँग फर्काउन सबैको साथ मागेको रे ?’
उताबाट रामवीरले फेरि प्रश्न गरे, ‘त्यो होइन हो गाउँमा त कहाँ छन् र नेताहरु सबै सदरमुकामतिरै होलान्, राजधानीमै बैठकाँ आका होलान् नि ? पालिकामा कहिल्यै भेटिन्नन् !’ उही जेठ लागेसी डोजर कुदाउने र ठेकेदारलाई पैसा बाँड्ने बेलामात्र टुप्लिन्छन् !‘त्यही भएर नि होला कहिले के सन्देश कहिले के सन्देश लिएर आका । अनि ठूलो बाजे अरु के छ त गाउँतिरको खबर ?,’ भतिजले यताबाट सोध्यो ?
‘के हुनु र हो ! गाउँमा त उही हामी जस्ता बूढाबूढीबाहेक को नै पो छ र ? सबै मुग्लान गाका छन् नि ! यसपालिको दसैंतिहारमा त गाउँ रित्तो भो बाबै । अरु बेला के हुन्छ र !’‘के गर्नु हो ठूलो बाजे गाउँमा माटो जोतेर पेट पाल्न पुग्दैन सबैले आफ्नो केही त गर्नै प¥यो । गाउँमा बसेर भइदिएको भए त किन छाड्दो होलान् र गाउँ ?,’ भतिजले सहानुभूति दिँदै भन्यो ।
‘हुन त हो क्यार तर पनि यहाँ त मरेको लास बोक्न पनि मान्छे पाउन मुस्किल भो त ! खेतबारी सबै बाँझो भए । खेती हुन छाड्यो, जंगल बाँदर गाउँ पस्न थाले । गाउँमा घर त सबै रित्ता छन् हो । तिम्रा काइँलाका खलक पनि सदरमुकाम छिरे क्यारे । अब त को नै पो छ र हामी दुई–चार घरकाबाहेक !’
‘हाम्रा पनि धेरै दुःख छन् हो ठूलो बाजे । गाउँमा बरु पैँचो मागेर पनि बाँचिन्थ्यो । सहराँ त काम नगरे भोकै मरिन्छ । गाउँका नेता सहराँ भए पनि हामीलाई गर्ने होइनन् । उनकै कार्जेकर्तालाई नै पुग्दैन । आफ्नो छोरानातिका पालासम्म पुग्नेगरी सम्पत्ति जोड्न मनशायमा राजनीति ग¥या छन्, अनि कसरी होला त ?’
उताबाट बूढाले भने, ‘ठिकै भनिस्, पहिलेपहिले भए पो सबैको जय होस् । सबैको भलो होस् । कसैले पनि भोकै पर्न नपरोस् भन्ने दिन थिए । अहिले त आफ्ना पेट भर्न पाएसी पुग्छ । त्यसोभए के हुन्छ त अव ?,’ भतिजलाई जिज्ञासा राखे ।
यताबाट भतिज भन्दै थियो, ‘केही पनि हुँदैन । जुन जोगी आए पनि कानै चिरेका हुन् ।’ भित्रै मनदेखि नमिठोसँग उसले भन्यो, ‘तिम्रा हाम्रा अवस्था नफेरिएसम्म व्यवस्थामात्र फेरिएर केही हुन्न, नाममात्रको व्यवस्था फेरिने टुप्पीको मान्छेमात्र फेरिएर के काम ? मर्ने र मारिने त उही गरिबकै सन्तान हुन् !’उताबाट बूढाले सान्त्वना दिँदै भने, ‘लौ लौ बचेर हिँडेस् आन्दोलन सान्दोलन भनेर नहिँडेस्, आफ्नो कर्म जे हो त्यही गरेस् । देश लुटिसके । हामीसम्म घिटीघिटी गाउँमै बसौंला । आफ्नो जीउ सुरक्षित राखेस् ।’
उता ठूला बाजेको सन्देशले भतिज खिन्न भयो । ‘हस् बरु त्यतातिर पनि ख्याल गर्नु ।’ दुवैले फोन काटे ।रामवीरे साइँला शाहीको अनुहारमा खुसी थिएन । होस पनि किन राजधानी बसेको भतिजले सुखैको कुरा सुनाउँला भन्ठानेका थिए । दुखकै कुरा सुनेपछि डाँडामाथिको घामजस्तै भएर बसेका उनको मन रुनु त स्वाभाविकै थियो ।
रामवीरे साइँलामात्र होइनन् नि । ७५ नाघेका धेरै बा आमाहरुको अवस्था उस्तै छ । कानले सुन्दैन । मस्तिष्कले बिर्सन थालेको छ । उमेरले नेटो काटिसकेको छ । जन्मेको माटो नै बिरानोजस्तै हुन थालेको छ । सीमित व्यक्तिको जयजयकार भइरहेको अहिलेको अवस्थामा । २०८१ को अन्त्यसम्म जसको जे भए पनि नयाँ वर्षसँगै देशको जय होस्, जनताको जय होस् । सबैको जय होस् ।