- सरकार परिवर्तन हुने दाहालको संकेत
- तराई–मधेस अभियानको क्रममा भने सरकारमा नजाने भनाइ फेर्दै सरकार परिवर्तन हुने अभिव्यक्ति सार्वजनिक
- कांग्रेस नेतृत्वमा सरकार बने सरकारमा सहभागी भएर सहयोग गर्ने भनाइ
- दाहालको अभिव्यक्ति सत्तामा नहुँदाको पीडाबोध भएको एमालेको टिप्पणी
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर पुगेर नयाँ वर्षसँगै सरकार फेरिने अभिव्यक्ति दिए । गठबन्धनको दुई मुख्य दल कांग्रेस–एमालेबीचमा सार्वजनिकरूपमै तिक्तता बढिरहँदा आएको दाहालको अभिव्यक्तिले सत्ता राजनीतिमा हलचल पैदा ग¥यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दल एमालेले त सोमबार बैठक बसेर सरकार नढल्ने प्रस्टीकरण नै दिनुप¥यो । दाहालको अभिव्यक्तिलाई सत्तामा नहुँदाको पीडाबोध भन्दै सरकार ढल्ने उनको अभिव्यक्ति खारेजसमेत गरिदियो ।
दाहालले चितवनमा भनेका थिए, ‘नयाँ घटनाक्रमहरू विकसित भएको र मेरो नयाँ अनुभवका आधारमा नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना देख्छु ।’ ओली सरकार धेरै अगाडि नजाने उनको ठोकुवा थियो ।दाहालले सरकार ढल्ने दाबी गरिरहेकै बेला सोमबारमात्रै कांग्रेस सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री ओलीलाई पत्र पठाउँदै जनअपेक्षाकृत काम गर्न नसकेको विषयमा असन्तुष्टि प्रकट गरेका थिए । कांग्रेस महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मादेखि नेता डा. शेखर कोइरालासहितका नेताहरू सरकारको आलोचनामा छन् । दुईतिहाइको बलियो सरकारले जनतामा आशा जगाउनेगरी काम गर्न नसकेको उनीहरूले सार्वजनिकरूपमै टिप्पणी गर्दै आएका छन् । यहीबेला माओवादी अध्यक्ष दाहालले ओली सरकार ढलेर नयाँ बन्ने बताए ।
गत फागुनको अन्तिम साता तराई–मधेस जागरण अभियानको क्रममा भने उनले २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नभएको बताएका थिए । सत्तातिर भन्दा पनि आफू जनतातिर फर्केको उनको भनाइ थियो । माओवादी सत्ता राजनीतिमा आएपछि केही फोहोर लागेको र जनतामाझबाट धोइपखाली गरेर जान जनतामाझ आएको बताएका थिए । तराई–मधेस जागरण अभियानका क्रममा सत्ताबाट टाढा रहने भन्ने दाहालको पछिल्लो अभिव्यक्तिले भने उनी सत्ता वरिपरि घुमिरहेको प्रस्ट्याउने राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर बताउँछन् । ‘सत्तामा जाने दलहरूको मिसन नै हुन्छ तर कहिले जाने वा नजाने त्यसको वस्तुवादी ढंगले विश्लेषण गर्न दलहरू चुक्न हुँदैन । अहिले दाहालजीको अभिव्यक्तिलाई हेर्दा सरकारमा जान तम्तयार भएको देखिन्छ,’ उनले प्रभावसँग भने, ‘उनले सरकारमा जाने नजाने भन्ने माहोल हेरेर बोल्छन् ।’
दाहालले हालै एक टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पनि कांग्रेस नेतृत्वमा सरकार बने सहभागी हुने संकेत गरेका थिए । ‘तत्कालको कुरा नेपाली कांग्रेसले विकल्प दिनुपर्छ । देशमा संकटको स्थितिजस्तो देखापरेको छ । यसको निकास दिन सबभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षरकर्ता दलको नाताले पनि नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ,’ उनले भने । दाहालले कांग्रेसलाई माओवादीको सहयोग रहने पनि प्रस्ट पारे । ‘नेपाली कांग्रेसको जस्तो चाहना हुन्छ, त्यहीअनुसार माओवादी केन्द्रले सहयोग गर्छ । यो कुरा एकदम क्लियर हो । नेपाली कांग्रेसले बाहिरबाट सपोर्ट गर्देऊ भन्यो भने हामी तयार छौं । सरकारमा आएर सपोर्ट गर भनेर कांग्रेसले भन्यो भने पनि उहाँहरूको भनाइअनुसार नै हुन्छ ।’
तर, उनको त्यही आशयको अभिव्यक्तिलाई आधार मानेर लेखिएका समाचारहरूको खण्डन गरेका थिए । सरकारमा जाने नीति नभएको उल्लेख गरेका थिए । उनले हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं । देशमा संकट आयो भने कसरी समाधान गर्ने भनेर विचार त दिन्छौं, तर यही सरकारमा जाने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार भ्रम हो ।’दाहाललाई कांग्रेस–एमाले सरकार ढाल्न जोडबल गरिरहेको आरोप लाग्ने गरेको छ । त्यसका लागि दक्षिणको शक्तिलाई विश्वासमा लिन खोजेको भूराजनीतिकवृत्तमा चर्चा पनि हुने गरेको छ । यस्तोमा सत्तालक्षित एकपछि अर्को सार्वजनिक उनका अभिव्यक्ति भने मेल खाने खालको छैन । राजनीतिक विश्लेषक पिटर माहोलअनुसार दाहालको बोली आउने गरेको बताउँछन् ।