काठमाडौं– युद्धका कारण बन्द भएको इजरायलले रोजगारी खोलेपछि झण्डै ४३९ जना नेपाली श्रमिक त्यहाँ पुगेका छन् । दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)का लागि उनीहरु जिटुजी प्रणालीमार्फत इजरायल पुगेका हुन् ।
सरकारले युद्धग्रस्त इजरायलमा कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउँदै गत वर्षको असार ११ गते रोजगारीका लागि आवेदन आह्वान गरेको थियो । त्यसयता त्यहाँ नेपाली कामदार जाने क्रमले निरन्तरता पाएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।
विभागका अनुसार हाल इजरायल जान सम्पूर्ण तयारी पूरा गरेकाको धमाधम करार सम्झौता आइरहेको छ । गत फागुनमा २५० जनाको भिसा स्वीकृत भएको थियो । वर्षको अन्तिम महिना चैतमा पनि करिब १९० जनाको भिसा आएको विभागले जनाएको छ । चैत ५ गते ९० जना र चैत २८ गते ९९ जनाको भिसा आएको हो ।
गत वर्ष असार ११ गते खुलेको आवेदनबाट छनोट भएकामध्ये माघ १५ गते पहिलोचोटि २४ जनाले सम्बन्धित रोजगारदाताबाट करार सम्झौता प्राप्त गरेका थिए । त्यसयता विभागमा सम्झौता आउनेक्रमले निरन्तरता पाएको छ । पहिलो चरणमा ९१९ जनाको करार सम्झौता आउने जनाइएको छ । दुई महिनामै आधाभन्दा बढी अर्थात् ५५ प्रतिशतको करार सम्झौता आइसकेको छ । यस अवस्थामा बाँकीलाई पनि यो वर्षको केही महिनाभित्र लगिसक्ने विभागका अधिकारीहरु बताउँछन् ।
यद्यपि, त्यहाँका रोजगारदाताको आवश्यकताअनुसार सम्झौता प्राप्त हुने भएकाले कति समयभित्र कामदार लगिसक्ने भन्नेचाहिँ टुंगो नहुने विभागअन्तर्गतको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीको भनाइ छ ।असारमा केयरगिभरका लागि आवेदन आह्वान भएपछि चार हजार २४ जनाले अनलाइन फाराम भरेका थिए । तीमध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएको थियो । आवेदन स्वीकृत भएकामध्यबाट दुई हजार ११२ जनालाई चिट्ठा (लट्री’बाट छनोट गरिएको विभागले जनाएको छ । छनोट भएका एक हजार जनाको स्वास्थ्य परीक्षण (मेडिकल) मा ९२३ जना उत्तीर्ण भए । उनीहरुमध्ये चार जना पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अनुपस्थित भएकाले पहिलो चरणमा ९१९ जनाको करार सम्झौता आउने विभागले जानकारी दिएको छ ।
अभिमुखीकरण लिएर बसेकाहरुको सम्झौता आइसकेपछि लट्रीमा नपरेकाहरुलाई पनि लग्न सक्ने इजरायल शाखाका निर्देशक ज्ञवालीले बताए । ‘यसअघि चिट्ठामा फालिएकाहरुलाई पनि लगेको छ । यसपटक पनि लट्रीबाट छनोट भएकाहरुलाई लग्न सक्छ,’ उनले प्रभावसँग भने ।सन् २०२३ अक्टोबरमा हमास र इजरायलबीच युद्ध सुरु भएपछि ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यसपछि केही समयका लागि इजरायलमा श्रमिक पठाउने प्रक्रिया बन्द थियो । यद्यपि, प्रतिबन्धको अवधिमा पनि व्यक्तिगत श्रम स्वीकृति लिएर र श्रम स्वीकृति नवीकरण गरेर इजरायल जाने क्रम कायमै रह्यो । चालु आर्थिक वर्षको साउनमा २८, भदौमा २६, असोजमा ३७, कात्तिकमा १११, मंसिरमा ९०, पुसमा ४७, माघमा ४६, र फागुनमा ३० जना पुनःश्रम स्वीकृति लिएर इजरायल गएका विभागको तथ्यांक छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरुको संख्या भने न्यून छ । गत साउनमा ११, भदौमा छ, असोजमा दुई, कात्तिकमा एक, मंसिरमा एक र फागुनमा एक जना व्यक्तिगत श्रम स्वीकृति लिएर इजरायल गएका छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर एक हजार पाँचजना इजरायल गएका थिए । जसमा ३०४ पुरुष र ७०१ जना महिला रहेका छन् ।
नेपाली श्रमिकहरुको आकर्षक गन्तव्यको रुपमा इजरायल रहेको छ । इजरायलले बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएकाहरुको स्याहारका लागि नेपालबाट केयरगिभर लग्दै आएको छ । त्यहाँ जाने कामदारले प्रत्येक दिन सात घण्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्छ । अतिरिक्त काम गरे त्यसबापतको छुट्टै पारिश्रमिक पाइन्छ । इजरायलमा प्रतिमहिना एक जना श्रमिकले पाँच हजार ८८० इजरायली सेकेल अर्थात् दुई लाख रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । कम्तीमा एसएलसी उत्तीर्ण गरी मान्यताप्राप्त तालिमप्रदायक संस्थाबाट तीन महिनाको केयर गिभिङ तालिम लिए इजरायल जान योग्य भइन्छ । इजरायलले कामदारको जम्मा मागमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषलाई लग्दै आएको छ ।