उदयपुर- स्थानीय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने पैदलयात्रा अभियान सुरु हुने भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका—७ बाघखोरबाट पैदलयात्रा सुरु भई लिम्चुङ्बुङ गाउँपालिका–२ माँझखर्क सातदोबोटेस्थित एभेरष्ट भ्यूटावरसम्म पुग्नेछ ।
स्थानीयस्तरमा पर्यटन विकास र त्यसको प्रवर्द्धनका लागि अभियानको गर्न लागिएको लिम्चुङ्बुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले नेपाली सेना पशुपति गण गाईघाट बोक्सेसँगको सहकार्यमा पालिकाले पदयात्रा गर्न लागेको बताए ।
“उदयपुरगढीको बाघखोर हुँदै हिजो हाम्रा पुर्खाहरू लिम्चुङ्बुङबाट सिरहाको लहान, मधेस जाने, नुनतेल किनेर आउने पदमार्ग थियो । आज सडकमार्गका कारण यी पदमार्गहरू लोप भएका छन्”, उनले भने,“ती मार्गलाई जीवित राख्न र स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनका लागि पनि यस्तो अभियान सुरु गरिएको हो । ”
पैदलयात्राका क्रममा ग्रामीण भेगका जनताको घरदैलो र रहनसहनसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुने उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले बताए । “स्थानिय जनताको घरघरमा गएर ढिँडो, सिस्नो, गुन्द्रुको तरकारीसहित खाना खान पाइने र परम्परागत संस्कृतिको विकास तथा संरक्षण गर्न पनि यस्तो पैदलयात्राले सहयोग पु¥याउने अपेक्षा छ”, उनले भने ।
आजभन्दा पाँच दशकअघिसम्म खोटाङको हलेसी क्षेत्रबाट लिम्चुङ्बुङको सातदोबाटे भएर उदयपुरगढीको बाघखोर हुँदै सिरहाको लहान बजारलगायत तराईमधेशसम्म जान यही बाटो प्रयोग हुने गरेको उदयपुरगढी पञ्चावती माविका पूर्वशिक्षक इच्छाराम परियार स्मरण गर्नुहुन्छ । यसर्थ हिजो पुर्खाहरूले हिँडेको बाटोको संस्कृतिलाई बचाउन र पर्यटन विकासमा टेवा पुर्याउन पैदलयात्रा सफल हुने उनको भनाइ छ ।
शनिबार बिहानदेखि सुरु हुने पैदलयात्रामा नेपाली सेनाका गणपति शिवप्रसाद बाग्ले, प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे, उदयपुर निर्वाचन क्षेत्र नं १ (ख) कोशी प्रदेशसभा सदस्य नारायण बुर्जा मगर, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर मगर, लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष राईलगायत स्थानीय कर्मचारी, राजनीतिक दलका नेतासहित नागरिक समाजका अगुवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।