- देउवा, ओली र दाहाल गणतन्त्र जोगाउन एकताबद्ध
- आज निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको घोषणा
काठमाडौं– कयौं मतभेदबीच गणतन्त्र पक्षधर प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एक ढिक्का भएर उभिन प्रतिबद्ध भएका छन् ।
राजसंस्था फर्काउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजावादी समूहले निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था जोगाउन एकताबद्ध हुने जनाएका हुन् । शनिबार साँझ उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।
भेटवार्तामा सहभागी गृहमन्त्री रमेश लेखकले गणतन्त्र, लोकतन्त्र र संविधानविरुद्धको प्रदर्शनलाई वितण्डाको रुपमा लिने साझा बुझाइ तीन नेताको रहेको बताए । ‘तीन नेताबीच बालुवाटारमा भएको छलफलको निष्कर्ष भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एक ढिक्का भएर उभिन्छौं भन्ने साझा निष्कर्ष हो, अर्को गणतन्त्र, लोकतन्त्र र संविधानका विरुद्धमा हुने प्रदर्शन आन्दोलन होइन, राजनीतिक अस्थिरता फैलाउने वितण्डा हो भन्ने नेताहरूको साझा बुझाइ रह्यो,’ लेखकले भने ।
राप्रपाले निषेधाज्ञा तोड्ने सार्वजनिक घोषणा गरेर संविधान र कानुनका विरुद्धमा अघि बढ्न खोजेको तीन नेताको बुझाइ छ । उनीहरूले राप्रपाले गर्ने कदमको विरोध गरेका छन् । ‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ गृहमन्त्री लेखकले भने ।
राजावादी समूहले १५ चैतमा हिंसात्मक प्रदर्शन गर्नुअघि पनि गणतन्त्र पक्षधर तीन दलको बैठक बसेको थियो । बैठकले व्यवस्थाविरोधी गतिविधि नगर्न चेतावनी दिएको थियो । राजसंस्था नेपालको सन्दर्भमा इतिहासको विषय भएको भन्दै राजसंस्था कहिल्यै नफर्किने दाबी गरेका थिए । तर, राजसंस्थापक्षधर शक्तिहरू भने लगातार आन्दोलित छन् ।
मुख्य राजावादी दल राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका संवेदनशील ठाउँहरुलाई निषेधित क्षेत्र तोकेको छ । नयाँ बानेश्वर, सिंहदरबारलगायत क्षेत्र निषेधित क्षेत्र मानिन्छन् ।
तर, राप्रपाले हाल प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत नेता कार्यकर्ताको रिहाका लागि भन्दै आज प्रदर्शन गर्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निरंकुश बन्दै गएकोले त्यसको विरोधमा निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने घोषणा गरेका छन् । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूका लागि राजनीतिक र कानुनी दुवै खालको लडाइँ लड्ने उनको चेतावनी छ ।
राप्रपा कार्यसम्पादन समिति बैठकले ९ वैशाखमा देशको ७७ वटै जिल्लामा प्रदर्शन र धर्ना कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी दिइएको छ । राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना, प्रदेश खारेजी र भ्रष्टाचार अन्त्यका लागि समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रिया गर्ने निर्णयसमेत गरेको छ ।
काठमाडौं उपत्यकाका सबै वडामा आन्दोलनको तयारी गर्ने, त्यसका लागि समन्वय गर्न केन्द्रीय र प्रदेश तहका नेताहरूलाई खटाउने भएको छ । आन्दोलनसम्बन्धी विषयमा योजना बनाउन तथा तत्काल आवश्यक निर्णय लिनु परेमा पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू र उपाध्यक्षहरू रहेको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । आन्दोलनको कार्यक्रमसँगै जिल्ला अधिवेशन पनि गर्ने निर्णय राप्रपाको छ ।
जगमानको दाबी : १५ जेठमै गणतन्त्र अन्त्य
राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित संयुक्त जनआन्दोलन परिचालन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आगामी १५ जेठमा देशबाट गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् । गणतन्त्र अन्त्यका लागि निर्णायक आन्दोलन गर्ने पनि बताए ।
‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन ? जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त ? ०८२ सालको जेठको १५ गते हुन्छ । त्यही हो कुरा,’ उनले काठमाडौंमा शनिबार आयोजित पृथ्वीपथबारेको कार्यक्रममा भने, ‘आन्दोलन कसरी जाने भन्ने कुरा सबै आत्तिसक्नुभएको छ । अर्को फोरममा भनौंला ।’उनले शनिबार नै विज्ञप्ति जारी गर्दै राप्रपाको नेतृत्वमा हुने आजको प्रदर्शनप्रति साथ रहने बताएका छन् ।
सरकारको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेकोप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो गतिविधि नगर्न सचेत गराएको छ । संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृहले उल्लेख गरेको छ । त्यस्तो गतिविधिमा संलग्न जोसुकैलाई कारबाही हुने चेतावनी गृहले दिएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आग्रह गरिएको छ । ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ । साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।