काठमाडौं– पछिल्लो दुई वर्षयता रोजगारीका लागि मलेसिया गएकाहरुले आत्महत्या गर्ने दर चिन्ताजनक देखिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत वर्ष (२०८१)को वैशाखदेखि चैत मसान्तसम्म मलेसिया गएकामध्ये ६९ जना नेपाली श्रमिकले आत्महत्या गरेका छन् ।
मलेसियाको यो संख्या वैदेशिक रोजगारीका क्रममा उक्त वर्ष आत्महत्या गर्ने नेपालीको कूल संख्याको करिब ४० प्रतिशत हो । गत वर्ष वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएकामध्ये १७६ जनाले आत्महत्या गरेको तथ्यांक छ । मलेसिया सबैभन्दा बढी भदौमा १० जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ ।
यसैगरी २०८१ वैशाख र जेठमा नौ–नौ जना, असार र साउनमा पाँच–पाँच जना, असोजमा सात जना, कात्तिकमा चार जना, मंसिरमा तीन, पुसमा चार, माघमा तीन, फागुनमा पाँच र चैतमा पाँच जनाले मलेसियामा आत्महत्या गरेका बोर्डले जानकारी दिएको छ । पछिल्लो समय आत्महत्याका घटना धेरै आउनु चिन्ताजनक भएको बोर्डका अधिकारीहरुले बताएका छन् ।
गत वर्ष साउदीमा ३६, संयुक्त अरब इमिरेट्स (युएई)मा ३३, कतारमा २१ र कुवेतमा १२ जनाले आत्महत्या गरेका छन् । बहराइन र ओमानमा भने यस्तो संख्या न्यून पाइएको छ । त्यसैगरी खाडीबाहेकका मुलुकमा आत्महत्याको दर तुलनात्मक रुपमा कम छ ।अघिल्लो वर्ष २०८० सालमा मलेसियामा ५७, युएईमा २५, साउदीमा २६, कतारमा २५ र कुवेतमा चार जनाले आत्महत्या गरेका थिए । त्यस्तै वि.सं. २०७९ मा युएईमा २९, साउदीमा ४१, मलेसियामा २९, कतारमा २७ र कुवेतमा चार जनाले आत्महत्या गरेको तथ्यांक छ । २०७८ मा मलेसिया गएका २३ जनाले आत्महत्या गरेका थिए ।
विगत केही वर्षको तथ्यांकलाई तुलना गर्दा मलेसियामा २०८० सालबाट यसको दरमा वृद्धि भएको पाइन्छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा बोर्डबाट १०९ जनाको परिवारले आर्थिक सहायता लिएका छन् । रोजगारीमा गएर आत्महत्या गर्नेमध्ये झण्डै ९० प्रतिशतको हाराहारीमा खाडीमुुलुक जानेहरु रहेको बोर्डले जनाएको छ ।
मानसिक स्वास्थ्यका विषयमा यस्तो विकराल स्थिति देखिएको अवस्थामा सरकारले विशेष कार्यक्रम अघि बढाउनुपर्ने क्लिनिकल साइकोलोजिस्ट नवराज फुयाल बताउँछन् । विदेशमा गएर कसरी काम गर्नेजस्ता विषयमा तालिम दिइएजस्तै मानसिक स्वास्थ्य, खानपान, जीवनशैलीजस्ता विषय पनि तालिममा समावेश गरिनुपर्ने उनको भनाइ छ । विशेषगरी खाडी मुलुकमा गएका श्रमिकहरुले आत्महत्या रोज्नुको पछाडि फुयालले विभिन्न कारण औंल्याएका छन् ।
‘मलेसियालगायत खाडी मुलुक जानेहरु अधिकांश न्यून या मध्यम आयस्रोत भएकाहरु हुन्छन् । उनीहरु यहीँ हुँदा पनि आफ्नो सामाजिक, आर्थिक अवस्थाका कारण कम प्रतिस्पर्धी र आत्मविश्वास कम भएका हुन्छन् । उनीहरु नेपालबाट जाँदै मानसिक स्वास्थ्यको उच्च जोखिममा हुन्छन्,’ उनले भने । फुयालका अनुसार विदेशको फरक वातावरणमा यहाँको जस्तो ‘सेयरिङ एण्ड केयरिङ’को कल्चर हुँदैन । कतिपय श्रमिक भनेजस्तो काम गर्ने वातावरण, पारिश्रमिक आदिबाट वञ्चित हुन्छन् । यसले गर्दा श्रमिकहरुको मानसिक स्वास्थ्य दिनानुदिन बिग्रिँदै जाने उनको भनाइ छ । ‘त्यसपछि मेन्टरल डिसअर्डरहरु आउने र सुसाइडल थटसम्म पुग्ने गरेको पाइन्छ,’ उनले भने ।
फुयालका अनुसार हाम्रो समाजमा व्याप्त अस्वस्थ प्रतिस्पर्धाका कारण पैसा कमाउन सकेन भने हुत्तिहारा मान्ने प्रवृत्ति छ । यसले मानिसको क्षमतामा ह्रास आउने, हिनताबोध हुने गरेको उनको भनाइ छ । त्यसैगरी औद्योगिक क्षेत्रमा काम गर्नेहरु प्रकृतिसँग घुलमिल हुन नपाउँदा पनि यस्ता समस्याको सिकार हुँदै गएको उनी बताउँछन् । त्यस्तै, पछिल्लो समय सम्बन्ध बिग्रिएका घटनाहरु बढी हुँदा पनि विदेशमा रहेका श्रमिकहरु मानसिक समस्यामा पर्ने गरेको उनले बताए । ‘मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक नलिने हाम्रो बानी छ । यसबारेमा जनचेतना जगाउन आवश्यक छ,’ फुयालले भने ।
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम वैदेशिक रोजगारीमा जाने कामदारलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रभावकारी अभिमुखीकरण दिन नसकिएको स्वीकार्छन् । ‘मानसिक स्वास्थ्यसम्बन्धी विषय पाठ्युस्तकमा छ । तर यसलाई विशेषज्ञमार्फत जसरी पढाइनुपर्ने हो त्यो गर्न हामीले सकेका छैनौं,’ उनले भने, ‘समस्या भएको विषय हामी सबैलाई थाहा छ । तर सरकारले न पाठ्यक्रम अद्यावधिक गराएको छ न हामीले माग गर्दै आएका विषयलाई सम्बोधन गरेको छ । अभिमुखीकरण कामचलाउजस्तो मात्र छ । हामी निरीह भएका छौं ।’