- ‘नो केबलबार’ पक्षधरबाट भट्टराईविरुद्ध नाराबाजीसहित घेरिएपछि शौचालयमा थुनिए
- सांसद भट्टराईले भने– मलाई कुनै दुःख छैन
काठमाडौं– गृहजिल्ला ताप्लेजुङको लेलेपमा पहिचान पक्षधरले घेरा हालेपछि झण्डै २० मिनेट शौचालयमा थुनिएका पूर्वमन्त्रीसमेत रहेका एमालेसचिव योगेश भट्टराई सामाजिक सञ्जालमा ‘भाइरल’ भएका छन् । उनी पसेको शौचालयलाई घेरेर ‘नो केबलबार’ पक्षधरहरूले नाराबाजी गरेका थिए । घटना शुक्रबारको हो । तर, शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भट्टराई शौचालयमै थुनिएर बस्नुपरेको र उनीविरुद्ध नाराबाजी भएको भिडियो भाइरल भएको हो ।
पहिचान पक्षधरहरूले भट्टराईलाई खाटी पहिचानविरोधी नेता मान्छन् । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केबलरका निर्माण गर्न नहुने भन्दै आएका उनीहरू भट्टराईलाई केबलबार निर्माण योजनामा जिम्मेवार ठान्छन् । गत माघमा उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी पाथीभरामा केबलकार निर्माण हुनुपर्ने मत राखेका थिए । उनको यो मतले नो केबलकार पक्षधरहरू चिढिएका थिए ।
यसपछि उनी लामो समय गृहजिल्ला ताप्लेजुङ गएनन् । तर, कञ्चनजंघा हीरक महोत्सवले उनलाई ताप्लेजुङ पु¥यायो । उनका साथमा पर्यटनमन्त्री बद्री पाण्डे पनि थिए ।जिल्लाको लेलेपमा महोत्सव उद्घाटन सकिएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गएका थिए । सँगै रहेका सांसद भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागे । जब भट्टराई सिँढी चढेर शौचालय उक्लिए, वरपर रहेका नो केबलकार पक्षधरले उनीविरुद्ध नाराबाजी सुरु गरे । शौचालय घेरा हाले र उनी थुनिए । अन्ततः प्रहरीले भीडलाई तितरबितर पारेर भट्टराईलाई कडा सुरक्षा घेराबीच हेलिकप्टर भएको क्षेत्रमा लगेका थिए ।
घटना भाइरल भएपछि सचिव भट्टराईले आफ्नो विरुद्धमा दुई–चार जनाले नारा लगाए पनि आफूलाई कुनै दुःख नलागेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा दुई–चार जनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनुपर्दछ ।’उनले थपेका छन्, ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौं । सामाजिक एकता र सद्भाव नबिगारौं ।’
भट्टराईमाथि दुव्र्यवहार भएको भन्दै एमाले ताप्लेजुङले आपत्ति जनाएको छ । दुव्र्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पनि माग गरेको छ । भट्टराईउपर गालीगलौज र अराजक क्रियाकलाप गरिएको भन्दै विज्ञप्तिमार्फत एमालेले भत्र्सना तथा खेद प्रकट गरेको छ । एमाले जिल्ला कमिटी ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अराजक गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउन मागसमेत गर्दछ ।’
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ ताप्लेजुङले सरकार, प्रहरी प्रशासन मूकदर्शक बने युवा संघ आफैंले बाध्य भई कारबाही गर्ने चेतावनी पनि दिएको छ । संयोजक मनिक तुम्बाहाम्फे र सहसंयोजक डेभिड लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रमा आफ्नो विचार राख्ने र स्वतन्त्र अभिव्यक्ति दिने कानुनी अधिकार सबै नागरिकमा भएको तर अराजक केही विकासविरोधी तत्वले हिरक महोत्सवजस्तो महŒवपूर्ण कार्यक्रममा आएका आफ्ना नेतामाथि दुव्र्यवहार गरेको भन्दै भत्र्सना गरिएको छ ।