केही समययता काठमाडौं आन्दोलनमय भएको छ । देशभरका शिक्षकहरु माइतीघर–नयाँबानेश्वर सडकमा १९ दिनदेखि लगातार आन्दोलनमा छन् । शिक्षा ऐन जारी गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका उनीहरु सरकारले वार्तामा बोलाए पनि गएका छैनन् । सरकार ऐन जारी गर्न प्रतिबद्ध नदेखिएको भन्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
यद्यपि, शुक्रबार शिक्षक महासंघका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए । तर, उक्त छलफलबाट ठोस निष्कर्ष निस्कन सकेन । जसकारण शिक्षकहरुले शनिबार १८औं दिन पनि बबरमहल क्षेत्रमा प्रदर्शन गरे । आज पनि प्रदर्शन जारी रहने बताइएको छ ।
त्यसो त यो माइतीघर बबरमहल क्षेत्रमा कसै न कसैको आन्दोलन, धर्ना, विरोध प्रदर्शन भइनै राख्छ । लघुवित्तपीडित, सहकारी पीडितदेखि फरक–फरक मागसहित प्रदर्शन गर्नेहरु दिनहुँ भेटिन्छन् । यसरी निरन्तर आन्दोलन चलिरहने काठमाडौंमा आज गणतन्त्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्दै छ । राप्रपाले आजको आन्दोलन निषेधित क्षेत्रमै गएर गर्ने घोषणा गरिसकेको छ । यता गृह मन्त्रालयले भने निषेधित क्षेत्रमा कुनै पनि विरोध प्रदर्श, जुलुसलगायतका कार्यक्रम नगर्न सचेत गराएको छ । प्रशासनको चेतावनीलाई राप्रपाले अस्वीकार गर्ने बताएको छ ।
गत चैत १५ मा तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन पनि निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा हिंसात्मक बन्न पुगेको थियो । उक्त प्रदर्शनका क्रममा दुई जनाको ज्यानसमेत जाने स्थिति बन्यो । थुप्रै संख्यामा घाइते भए । निजी तथा सरकारी भवन तथा सवारीसाधनहरु जलाइए । उक्त घटनामा दोषी ठहर गर्दै प्रहरीले दुर्गा प्रसाईंसहित राप्रपा नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई पक्राउ गरेर हिरासतमा राखेको छ । राप्रपाले आफ्ना नेताहरु रिहाइको माग गर्दै आज प्रदर्शन गर्न लागेको हो ।
राप्रपाले निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने घोषणा गरेपछि पुनः हिंसा भड्किने होइन ? भन्ने त्रास फैलिएको छ । सरकारले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न सचेत गराउँदा पनि राप्रपा मान्ने पक्षमा देखिँदैन । दुवै पक्ष आ–आफ्नो अडानसहित आमनेसामने हुँदा फेरि हिंसा भड्किने अवस्था सिर्जना नहोस् । आन्दोलनरत पक्ष र प्रहरी दुवैतर्फबाट संयतमता अपनाउन जरुरी छ । तीनकुने हिंसा प्रकरण पुनः दोहोरिन नदिन सबै जिम्मेवार बनोस् ।