- पूर्वराजा ज्ञानेन्द्रले ‘लञ्च मिटिङ’मा दिएको सुझाव नमानेको भन्दै लिङ्देनको आलोचना
- संयुक्त जनआन्दोलन समिति, राप्रपा नेपाल, केशरबहादुर विष्ट समूहलगायतसँगै आन्दोलन बढाउन लिङ्देन अनिच्छुक
- निषेधित क्षेत्र तोड्न गरिएको प्रदर्शन असफल बनेपछि राप्रपाभित्रै बढ्यो असन्तुष्टि
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई शुक्रबार ‘मन सानो नगर्न’ सुझाए । देशमा राजसंस्था फर्काउने माहोल बन्दै गएको र एक्लै अघि बढ्नेभन्दा पनि समान विचारधारा भएका दल, समूह र अभियानलाई साथै लिएर अघि बढ्न उनको आग्रह थियो । जवाफमा लिङ्देनले ‘हुन्छ’ भनेको शुक्रबारको लञ्च मिटिङमा सहभागी एक नेताले प्रभावलाई बताए ।
लञ्च मिटिङको अघिल्लो दिन राप्रपाले काठमाडौंमा आइतबार निषेधित क्षेत्र तोड्ने निर्णय गरेको थियो । सरकारले शनिबारमात्रै निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो । तर, राप्रपा पछि हटेन । आइतबार सिंहदरबारमा पार्टी संसदीय दलको कार्यालय जाने भनेर मध्याह्न झुक्याएर प्रदर्शन गरे । अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत सात जना पक्राउ परे । साँझ सबै रिहा भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
तर, निषेधित क्षेत्र तोड्न गरिएको प्रदर्शनमा राप्रपामात्रै सहभागी बन्यो । प्रदर्शनको उद्देश्य भने यसअघि पक्राउ परेका पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर जबरालगायत नेता कार्यकर्ताको रिहाका लागि दबाब सिर्जना गर्नु थियो । संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनासँगै संघीयता खारेजी अन्त्य गर्नुपर्ने माग छ । यिनै मागसहित अघोषितरूपमा पूर्वराजा ज्ञानेन्द्रले गठन गराएको भनिएको संयुक्त जनआन्दोलन परिचालन समिति छ । समितिको कार्यवाहक संयोजक डा. जगमान गुरुङ छन् । तर, उनलाई राप्रपाले आन्दोलनमा सहभागी गराएन । प्रदर्शनमा एक्लै उत्रियो । यसपटक राप्रपाको प्रदर्शनलाई कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले पनि समर्थन गरेन । कारण, गत वर्षको २६ चैतमा काठमाडौंको बल्खुमा प्रदर्शन गर्दा पनि राप्रपाले समान राजनीतिक गन्तव्य भएका दल, समूह र अभियानलाई सहभागी गराएको थिएन ।
यसपछि राप्रपा अध्यक्ष लिङ्देनलाई शुक्रबार ज्ञानेन्द्रले ‘सानो मन नगर्न’ सुझाएका थिए । आइतबार प्रदर्शनमा फेरि उनले सानै चित्त देखाएको राप्रपाका कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले टिप्पणी गरे । उनले भने, ‘राप्रपाको राजनीतिक प्रतिवेदनमै समान विचारधारा भएका दल, समूह, अभियानदेखि स्वतन्त्र नागरिकलाई राजसंस्था र हिन्दूअधिराज्य पुनस्र्थापनाको आन्दोलनमा कार्यगत एकता गरेर अघि बढ्ने उल्लेख छ । तर, पछिल्ला आन्दोलनहरूमा अध्यक्षले नै समन्वय गर्नुभएन । उहाँलाई कार्यसम्पादन समिति बैठकमा पनि हलबाट मिलाएर लैजाऔं सबैलाई भन्ने सुझाव अएको थियो ।’
उसो त लिङ्देनले संयुक्त जनआन्दोलन समिति र समिति नेतृत्व गुरुङलाई स्वीकारेका छैनन् । यसअघि सुवेदीलाई पनि उनले अस्वीकार गरेका थिए । आइतबार काठमाडौंमा निषेधित क्षेत्र तोड्न गरिएको प्रदर्शनमा पनि लिङ्देनले सहभागी गर्न अनिच्छा प्रकट गरे । राप्रपाको संस्थापनइतरधारको नेतृत्व गरेका महामन्त्री डा. धवलशमशेर जबरापक्ष भने गुरुङ नेतृत्वको समितिलाई राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा सँगसँगै लिएर अघि बढ्नुपर्ने पक्षमा छ । राप्रपा नेपाल, केशरबहादुर विष्ट नेतृत्वको समूह र दुर्गा प्रसाईं नेतृत्वको समूहलाई पनि आन्दोलनमा एकताबद्ध गरेर लानुपर्नेमा जोड दिँदै आएको छ । तर, लिङ्देनलाई अस्वीकार्य छ ।
धवलनिकट एक पदाधिकारीका अनुसार राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको संयोजक लिङ्देन स्वयं हुन चाहेका थिए । निर्मलनिवासले भने उनलाई पत्याए । यसपछि लिङ्देन रुष्ट छन् । राप्रपा नेतृत्वबाट आफूलाई हटाउँदै लिङ्देनलाई ल्याउन भने चार वर्षअघि महाधिवेशनमै निर्मलनिवासले हस्तक्षेप गरेको आरोप कमल थापाले गरेका थिए । तर, त्यसबेला निर्मलनिवासको विश्वास जितेका लिङ्देन चार वर्षमै अविश्वासिला बनेको राप्रपाकै एक पदाधिकारी बताउँछन् । धवलनिकट ती पदाधिकारीको शब्दमा लिङ्देनलाई सोही कारण राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको संयोजक पत्याइएन । बरु, विवादित मेडिकल व्यवसायी प्रसाईं १५ चैतको प्रदर्शनमा जनकमाण्डर निर्मलनिवासबाटै तोकिए । उक्त प्रदर्शन हिंसात्मक बन्यो । त्यसपछि फरार भएर भारत पुगेका उनी पक्राउ परेर काठमाडौं प्रहरीको हिरासतमा छन् ।
लिङ्देन भने संयोजक न जनकमाण्डर भए । राजनीतिक विश्लेषक भीम भुर्तेल भन्छन्, ‘लिङ्देनको दुवै पटक संसद् यात्रा गणतन्त्रवादीले काँध हालेर सम्भव भएको हो । त्यही भएर उनी राजसंस्थाको मुद्दा बोक्ने दलको नेता भए पनि गणतन्त्रप्रति आत्मिकरूपमा नरम छन् । त्यसो हुँदा उनलाई ज्ञानेन्द्रले अविश्वास गर्नु स्वाभाविकै हो ।’फेरि लिङ्देन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गणतान्त्रिक सरकारमा यसअघि उपप्रधान तथा ऊर्जामन्त्री भइसकेका छन् । सरकारका हरेक मन्त्रीको एउटा कार्यभार मौजुदा व्यवस्था (संघीय लोकतान्त्रिक गणतन्त्र) लाई जोगाउने हुन्छ । अहिले पनि लिङ्देनलाई गणतन्त्रवादीको सरकारमा जान खुट्टा उचालिरहेको आरोप लाग्छ ।
जबकि, १५ जेठ २०६५ मा देशमा गणतन्त्र घोषणा भएपछि राप्रपाको मूल उद्देश्य नै संवैधानिक राजसंस्था पुनस्र्थापना हो । तर, दाहाल सरकारमा लिङ्देन सहभागी भएसँगै ज्ञानेन्द्रको विश्वास लिङ्देनले गुमाएको राजनीतिक विश्लेषक भुर्तेललाई लागेको छ ।
आन्दोलन फितलो, नेता–कार्यकर्ता असन्तुष्ट
राप्रपाको मूल आन्दोलन परिचालन समिति संयोजकसमेत हुन्– राजेन्द्र लिङ्देन । उनकै नेतृत्वमा आइतबार काठमाडौंमा निषेधित क्षेत्र तोड्ने घोषित कार्यक्रम थियो, जुन यही ४ वैशाखमा कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार हो ।
राप्रपा केन्द्रीय सदस्यहरू भएको पार्टीको ह्वाट्सएप ग्रुपमा शनिबार सचिवालयबाट सूचना जारी भयो, त्यहाँ लेखिएको थियो– बिजुलीबजारमा भेला भएर प्रदर्शन गर्दै जाने र बानेश्वर क्षेत्रको निषेधित क्षेत्र तोड्ने । त्यसको नेतृत्व अध्यक्षले गर्ने । सूचनाअनुसार केन्द्रीय सदस्यहरू तयार थिए । आइतबार बिहानै उनले पार्टीका सीमित नेतामात्रै सहभागी हुने जानकारी फेसबुक स्टाटसमार्फत गरे ।
त्यसको केहीबेरमा उनले आफू, दुई पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तथा उपाध्यक्षहरू भएको एक उच्चस्तरीय समितिको बैठक ११ बजे राखे । बैठकमा उनले बालुवाटार, भद्रकाली र बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने प्रस्ताव राखे । उनको प्रस्तावमा बालुवाटारमा प्रदर्शन गर्नेले त्यहीँको निषेधित क्षेत्र तोड्ने, भद्रकालीमा प्रदर्शन गर्ने टोलीले सिंहदरबार र बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्नेले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने ।
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेका अनुसार उनलाई बालुवाटार क्षेत्रमा खटाइएको थियो । अध्यक्ष लिङ्देन १ बजे बिजुलीबजार क्षेत्रमा जाने र बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनिएको थियो । उनी आउने भएपछि राप्रपाका नेता कार्यकर्ताहरू १२ बजेदेखि नै त्यस क्षेत्रमा आन्दोलित थिए । सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए । तर, लिङ्देन २ः१५ हुँदासम्म आएनन् । बरु, त्यसबेला राप्रपा सांसद दीपक सिंह हुरिंदै बिजुलीबजार पुल क्षेत्रमा आइपुगे । उनलाई प्रहरीले पछ्याइरहेको देखिएको थियो । उनले पत्रकारहरूलाई त्यही भने– अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङलगायत सिंहरदबारमा पक्राउ परे ।
जबकि, लिङ्देनलाई तीन घण्टादेखि राप्रपाकै नेता कार्यकर्ताहरू बिजुलीबजार क्षेत्रमा पर्खिरहेका थिए । तर, उनले सिंहदरबार गएर त्यहीँ प्रदर्शन गरी गिरफ्तारी दिए । यसपछि प्रदर्शनमा रहेका राप्रपा नेता कार्यकर्ता बिच्किए । राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रभावसँग भने– आन्दोलन प्रभावहीन भयो । खत्तमै भयो ।’
००
आइतबार सिंहदरबारभित्रै सरकारविरुद्ध प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतलाई नियन्त्रणमा लिँदै नेपाल प्रहरी । तस्बिर स्रोतः सामाजिक सञ्जाल