काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । हालसम्मकै उच्चमा सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।