सोलुखुम्बु- सरकारले जलवायु परिवर्तनजन्य विपद्बाट प्रभावित सगरमाथा क्षेत्रको थामे बस्तीको पुनःनिर्माण अघि बढाउने जनाएको छ । आज खुम्बु गाउँपालिका–५ थामेमा ‘साथसाथै’ नामक संस्थाले आयोजना गरेको आरोही सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले थामेको पुनःनिर्माणलाई सरकारले अपनत्व लिएको बताए ।
अन्तरराष्ट्रिय पृथ्वी दिवसका अवसर पारेर आयोजित आरोही सम्मेलनमा मन्त्री शाहीले बाढीका कारण भत्किएको थामे बस्तीको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै तत्कालीन पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकारले स्पष्ट रणनीतिसहित कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाए ।
उनले भने, “हिमताल फुटेर आएको बाढीले थामेमा विनाश निम्त्याएको छ । यो केवल स्थानीय प्राकृतिक घटना होइन, यो वैश्विक जलवायु परिवर्तनको असर हो । नेपालले कुनै गल्ती नगरे पनि जलवायु संकटको सजाय भोगिरहेको छ ।” मन्त्री शाहीका अनुसार यस्तो संवेदनशीलतालाई ध्यानमा राखी जलवायु न्यायको अन्तरराष्ट्रिय बहसमा नेपालले थप कडा आवाज उठाउनुपर्ने आवश्यकता छ । “अब जलवायु सङ्कटबारे केवल बहस होइन, कार्यान्वयनमुखी दृष्टिकोण आवश्यक छ,” उनले भने ।
कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, पर्यावरण तथा पर्वतारोहण क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, आरोही, वातावरणविद्, सञ्चारकर्मी र स्थानीय बासिन्दाको उपस्थिति छ ।गतवर्षको भदौमा थामेमा हिमताल फुटेर आएको बाढीले थामेका दर्जनौँ घरसँगै खेतीयोग्य जमिन, पुल, पदमार्ग, बिजुली लाइन, खानेपानी योजना र धार्मिक संरचनामा समेत क्षति पु-याएको थियो । विस्थापित परिवार हाल अस्थायी टहरा र छिमेकीका घरहरूमा शरण लिएर बसेका छन् । सात महिना बितिसक्दा पनि पुनःनिर्माण अघि बढ्न सकेको छैन ।