एजेन्सी - युक्रेनमा रुसको युद्ध अन्त्य गर्ने अमेरिकाको नयाँ प्रयासका बीच बेलायतले बुधबार संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली राष्ट्रहरू संलग्न नयाँ चरणको वार्ताको आयोजना गर्दैछ । अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकफले यस हप्ता मस्को भ्रमण गर्ने ह्वाइट हाउसले पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि यो उहाँको चौथो रूस भ्रमण हुनेछ । लन्डन बैठक अमेरिकी मिडियाले जनाएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प क्रिमियामा अधिग्रहित भूमिलाई रूसी क्षेत्रको रूपमा मान्यता दिन तयार भएको समयमा आएको हो ।
समाचारहरूका अनुसार यो प्रस्ताव पहिलो पटक गत हप्ता पेरिसमा युरोपेली राष्ट्रहरूसँगको यस्तै बैठकमा उठाइएको थियो । त्यसयता ट्रम्पले द्रुत प्रगति नभएमा सङ्घर्ष अन्त्य गर्ने प्रयासहरूमा ‘पास गर्ने’ धम्की दिएका छन्।
यद्यपि रूसले छोटो इस्टर युद्धविरामपछि यस हप्ता हवाई आक्रमण पुनः सुरु गर्यो र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार उनको देश युद्धविरामपछि मात्र रूससँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताए । क्रेमलिनले युद्धविराम सम्झौतामा हतार गर्न नसक्ने चेतावनी दिएको छ ।
ट्रम्पले चुनावी अभियानमा २४ घण्टामा मस्को र किएभबीच सम्झौता गर्ने वाचा गरेका थिए तर युक्रेनमा आफ्नो सेना रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट छुट प्राप्त गर्न असफल हुनुभएको छ । सप्ताहन्तमा ट्रम्पले दुई पक्ष युद्धविरामको नजिक पुग्ने कुनै सङ्केत नभए पनि ‘यस हप्ता’ सम्झौता हुन सक्ने आशा गरेको बताए ।
गत बिहीबार घटनाहरूबारे छलफल गर्न अमेरिकी, फ्रान्सेली र बेलायती विदेशमन्त्रीहरूका साथै जर्मनीका एक वरिष्ठ अधिकारी पेरिसमा भेटेका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्ध अन्त्य गर्न अमेरिकी योजना प्रस्तुत गरेको तर कुनै विवरण नदिइएको बताए । रुबियोले पेरिस बैठकपछि टेलिफोन वार्तामा आफ्ना रूसी समकक्षी सर्गेई लाभारोभसँग पनि योजनाबारे छलफल गरे । पेरिस वार्तापछि रुबियो र ट्रम्पले द्रुत प्रगति नदेखेमा संयुक्त राज्य अमेरिका शान्ति वार्ताबाट बाहिरिन सक्ने चेतावनी दिएको छ ।
“ट्रम्प यो युद्ध अन्त्य गर्न चाहनुहुन्छ, उहाँ यस युद्धका दुवै पक्षको हत्या रोक्न चाहनुहुन्छ, उहाँले त्यसबारे धेरै समयदेखि धेरै स्पष्ट पार्नुभएको छ, उहाँ यस युद्धका दुवै पक्षप्रति निराश हुनुभएको छ र उहाँले त्यो धेरै स्पष्ट पार्नुभएको छ”, उहाँकी प्रवक्ता क्यारोलिन लेभिटले मङ्गलबार भने ।
दीर्घकालीन
बेलायती विदेशमन्त्री डेभिड लामीले बुधबारको छलफलको नेतृत्व गर्नुहुनेछ । यो छलफल पेरिसको भन्दा निम्न स्तरमा हुनेछ । यसमा अमेरिकी युक्रेन दूत किथ केलोग र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनका कूटनीतिक सल्लाहकार इमानुएल बोन सहभागी हुनेछन् । युक्रेनको प्रतिनिधित्व जेलेन्स्कीका प्रमुख स्टाफ एन्ड्री येरमाक, विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्तेम उमेरोभले गर्नेछन् । बेलायतका रक्षामन्त्री जोन हिलीले संसदलाई मन्त्री र अधिकारीहरूले ‘युद्धविराम कस्तो देखिन सक्छ र दीर्घकालीन शान्ति कसरी सुनिश्चित गर्ने’ भनेर छलफल गर्ने बताए ।
ट्रम्पले मार्चमा बिना शर्त युद्धविरामको प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावको सिद्धान्तलाई किएभले स्वीकार गरेको थियो तर पुटिनले अस्वीकार गर्नुभयो । ह्वाइट हाउसले ३० दिनका लागि ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न दुवै पक्षले गरेको छुट्टै सम्झौताको स्वागत गरेको छ, तर क्रेमलिनले यो स्थगन अवधि समाप्त भएको बताएको छ । युरोपलाई निर्णय प्रक्रियाबाट बाहिर राखिने डर रहेको बेला संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली मन्त्रीहरू ‘एउटै टेबलको वरिपरि भेला’ भएकाले फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले पेरिस वार्तालाई एउटा सफलताको रूपमा प्रशंसा गरे ।
युरोपेली नेताहरूले पनि ट्रम्पले वासिङ्टनको महत्त्वपूर्ण सैन्य र आर्थिक समर्थन फिर्ता लिएमा युक्रेनलाई कसरी समर्थन गर्ने भनेर काम गर्न खोजिरहेका छन् ।