काठमाडौं– वैदेशिक रोजगार बोर्डले गत वर्ष (२०८१)मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार ६४३ श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान गरेको छ । क्षतिपूर्तिबापत ७५ करोड ४५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको बोर्डले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधिभित्रै या करार अवधि सकिएको एक वर्षभित्र मृत्यु भएमा मृतकका परिवारले बोर्डबाट क्षतिपूर्ति पाइने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम मृतकका परिवारलाई क्षतिपूर्ति वितरण गरिएको बोर्डको भनाइ छ ।
बोर्डका अनुसार गत वर्ष वैशाखदेखि चैत मसान्तसम्म क्षतिपूर्तिका लागि एक हजार ७९३ वटा निवेदन परेका थिए । ती मध्ये करिब डेढ सय वटा निवेदन भने प्रमाणीकरणको प्रक्रियामा रहेका छन् ।सरकारले गत कात्तिक ८ गतेबाट क्षर्तिपूर्तिबापत दिइने रकम बढाएर १० लाख रुपैयाँ पु¥याएको थियो । गत वर्ष यो सुविधा लिने परिवारको संख्या १९८ रहेको छ । अर्थात् गत कात्तिकयता मृत्यु भएका १९८ श्रमिकका परिवारले १० लाख रुपैयाँका दरले क्षतिपूर्ति बुझेका छन् ।
त्यसअघि करार अवधिभित्रै या करार अवधि सकिएको एक वर्षभित्र मृत्यु भएका श्रमिकका परिवारले सात लाख रुपैयाँ पाउने व्यवस्था थियो । तोकिएको अवधि नाघेर क्षतिपूर्ति दाबी गर्न आए बोर्डले त्यस्तो अवस्थामा मृतकका परिवारलाई २५ हजार रुपैयाँमात्र दिँदै आएको थियो । यी दुवै प्रकारका क्षतिपूर्ति लिनेको संख्या गत वर्ष एक हजार ४४५ रहेको छ ।
धेरै मृत्यु मलेसियामा
गत एक वर्षको अवधिमा बोर्डले विभिन्न देशबाट ४५८ जना श्रमिकको शव नेपाल झिकाएर परिवारलाई बुझाएको तथ्यांक छ । बोर्डका अनुसार क्षतिपूर्ति दाबी गर्नेमा मलेसिया र खाडी मुलुकमा मृत्यु भएका संख्या धेरै छ । गत वर्ष क्षतिपूर्ति लिनेमध्ये सबैभन्दा बढी ४१४ जना श्रमिक मलेसियामा मृत्यु भएका थिए । मलेसियापछि साउदी अरबमा मृत्यु भएका ३७७ श्रमिकका परिवार छन् । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भएका ३२६ जना, कतारमा मृत्यु भएका २७२ जना, कुवेतमा मृत्यु भएका ८७ जना, दक्षिण कोरियामा मृत्यु भएका २८ जना, जापान र रोमानियामा मृत्यु भएका २२÷२२ जना रहेका छन् ।
यसैगरी ओमानमा मृत्यु भएका १५ जना, बहराइनका १६ जना, क्रोएसियाका १४ जना, मरिससका आठ जना, भियतनाममा मृत्यु भएका तीन जना तथा उज्वेकिस्तान, ब्रुनाइ र बेलायतमा मृत्यु भएका श्रमिक संख्या दुई–दुई जना रहेका छन् । त्यसैगरी युगाण्डा, मेसिडोनिया, केम्यान, न्युजिल्याण्ड, इजिप्ट, मकाउ, कजाकिस्तान, पोर्चुगल र स्लोभाकिया गएका एक÷एक जना श्रमिकको पनि मृत्यु भइ परिवारले क्षतिपूर्ति लिएका बोर्डले जानकारी दिएको छ ।
अघिल्लो वर्ष २०८० को तुलनामा क्षतिपूर्ति लिने संख्यासमेत बढेको पाइएको छ । गत वर्ष अघिल्लो वर्षभन्दा ४५७ जना बढीले क्षतिपूर्ति पाएका छन् । वर्ष २०८० मा यस्तो क्षतिपूर्ति लिनेको संख्या एक हजार १८६ रहेको थियो । उक्त वर्ष बोर्डले मृतकका परिवारलाई ४९ करोड २१ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरेको थियो । त्यसअघि २०७९ सालमा एक हजार २४० श्रमिकका परिवारले बोर्डबाट क्षतिपूर्ति लिएका थिए । उक्त वर्ष क्षतिपूर्तिका लागि ६० करोड ३५ लाख २५ हजार रुपैयाँ खर्च भएको बोर्डले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भए, अंगभंग भए वा गम्भीर बिरामी भए उनीहरुका विद्यालयस्तरमा अध्ययन गर्ने छोराछोरीलाई बोर्डले छात्रवृत्ति प्रदान गर्ने व्यवस्थासमेत रहेको छ । गत वर्ष चार हजार २६६ जनाले यस्तो छात्रवृत्ति पाएका छन् । कक्षा नर्सरीदेखि ८ सम्म अध्ययन गर्नेलाई वार्षिक १२ हजार र ८ देखि १२ कक्षा अध्ययन गर्नेलाई प्रतिव्यक्ति १६ हजार रुपैयाँ दिइँदै आएको बोर्डले जनाएको छ ।
पछिल्लो तीन वर्षमा वितरण गरिएको क्षतिपूर्ति
वर्ष |
संख्या |
रकम (रु.) |
२०८१ |
१६४३ |
७५ करोड ४५ लाख |
२०८० |
११८६ |
४९ करोड २१ लाख |
२०७९ |
१२४० |
६० करोड ३५ लाख |
स्रोतः वैदेशिक रोजगार बोर्ड