- युरोपेली मुलुकभन्दा यूएई नेपाली श्रमिकको आकर्षक गन्तव्य
- अफ्रिकी मुलुक मरिसस्देखि दक्षिण एसियाको माल्दिभ्स पनि नेपालीको रोजाई
- सवा लाख श्रमिक व्यक्तिगत श्रम स्वीकृति लिएरै पुगे वैदेशिक रोजगारीमा
काठमाडौं –व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । गत वर्षमात्र एक लाख २५ हजार २१२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजागरीमा पुगेका छन् ।
खाडी मुलुकदेखि युरोपेली देशहरु उनीहरुको प्रमुख रोजगार गन्तव्य बन्ने गरेको तथ्याङ्कले देखाउँछ । गत १२ महिनामा ९८ हजार ६८१ जना पुरुष र २६ हजार ५३१ जना महिला यसरी विदेश गएका छन् । सबैभन्दा बढी मंसिरमा १३ हजार ५९ जना र सबैभन्दा कम वैशाखमा ८ हजार ३१५ जना थिए ।
गत वर्ष यसरी सबैभन्दा बढी युवाहरु संयुक्त अरब इमिरेट्स (युएई) पुगेको देखिएको छ । यूएईमा २२ हजार ५ सय ३४ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । यूरोपियन मुलुकको तुलनामा सस्तो लागत, आधुनिक र काम गर्ने वातावरण सहज, श्रमिकले आयकर तिर्न नपर्ने, रोजगारीको अवसरजस्ता कारणले यूएईमा यसरी जानेहरुको रोजाइ बनेको देखिन्छ । पछिल्लो केही वर्ष यता यूएई नेपालको पहिलो रोजगार गन्तव्य बन्दै आएको छ ।
यूएईपछि दोस्रो आकर्षक गन्तव्य रोमानिया देखिएको छ । एक त यूरोपेली मुलुक, त्यसमाथि श्रम बजार विस्तार, यही कारण व्यक्तिगत श्रम स्वीकृति लिएरै रोमानिया जाने बढ्न थालेको पछिल्लो ‘ट्रेन्ड’ले देखाउँछ । रोमानियाले उत्पादन, कृषि, निर्माणजस्ता क्षेत्रमा श्रमिकको माग बढ्दो छ । दक्षिण एसियाली मुलुकबाट जानेका लागि निकै आकर्षत तलब, अन्य यूरोपेली मुलुकको तुलनामा कम खर्च, कानुनी प्रक्रिया पुरा गरे यूरोपियन यूनियनका अन्य मुलुकमा सजिलै प्रवेश पाउनेजस्ता कारणले गर्दा त्यहाँ जानेहरुको संख्या बढ्दो छ । अघिल्लो वर्ष १७ हजार ८५६ नेपाली रोमानिया पुगेका थिए ।
रोमानियापछि जापान, क्रोएसिया, कतार र कुवेत प्रमुख गन्तव्य भएको तथ्याङ्कले देखाउँछ । गत वर्ष यसरी जापान जानेको संख्या १४ हजार ६६२ थियो । आकर्षक तलब सुविधा, सुरक्षित र अनुशासित वातावरण, श्रमलाई सम्मान गर्ने कारणले जापान श्रमिकको रोजाइमा परेको देखिन्छ । गत वर्ष १३ हजार ९८६ जना क्रोएसिया पुग्दा संस्थागत हिसाबले कोही पनि क्रोएसिया गएनन् ।
खाडी मुलुक कतार व्यक्तिगत श्रम स्वीकृति लिएर जाने मुलुकको पाँचौ स्थानमा छ । गत वर्ष यसरी कतार जानेको संख्या ११ हजार ४७८ जना रहेको छ । आयकर तिर्न नपर्ने, कामदारको उच्च माग, सस्तो लागतका कारण पनि कतार रोज्नेहरुको संख्या बढेको हो ।
यसरी जानेको छैटौं गन्तव्य हो माल्दिभ्स । त्यहाँका होटल, रेस्टुरेन्ट, हाउसकिपिङजस्ता क्षेत्रमा श्रमिकको माग उच्च छ । गत वर्ष ७ हजार ४६९ जना यहाँ गएका छन् । कुवेत व्यक्तिगत श्रम स्वीकृति लिएर जाने मुलुकको साताँै स्थानमा छ ।
कुवेतपछि अफ्रिकी मुलुक मरिसस जानेको संख्या बढी छ । मरिससमा पर्यटन, कृषि, निर्माणजस्ता क्षेत्रमा श्रमिकको माग बढ्दो छ । त्यसपछि माल्टा, युरोपेली मुलुक सर्बिया नेपाली श्रमिकको आकर्षक गन्तव्य बनेको देखिन्छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर कुन देशमा कति नेपाली श्रमिक पुगे ?
गन्तव्य |
संख्या |
संयुक्त अरब इमिरेट्स (यूएई) |
२२,५३४ |
रोमानिया |
१७,८५६ |
जापान |
१४,६६२ |
क्रोएसिया |
१३,९८६ |
कतार |
११,४७८ |
माल्दिभ्स |
७,४६९ |
कुवेत |
३,९०६ |
मरिसस् |
३,७०१ |
माल्टा |
२,५०३ |
सर्बिया |
२,४९४ |