काठमाडौं– गत चैत अन्तिम सातादेखि वैदेशिक रोजगार विभाग नेतृत्वविहीन छ । निवर्तमान महानिर्देशक सूर्यबहादुर खत्री मन्त्रालय तानिएपछि विभाग महानिर्देशकविहीन बनेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैत २१ गते विभागका महानिर्देशक र निर्देशकको सरुवा गर्ने निर्णय गरेको थियो । निर्वतमान महानिर्देशक खत्रीको स्थानमा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई पठाउने निर्णय भएको थियो । तर शुक्रबारसम्म भुसाल विभागमा हाजिर भएका छैनन् । अहिले विभागको सबै कामकारबाही उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले हेरिरहेका छन् । शिवाकोटी भर्खरै मात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विभागमा केही दिनमै महानिर्देशक हाजिर हुने जनाएका थिए । तर हप्तौ बित्दा पनि मन्त्रीको भनाइ पूरा भएको छैन ।महानिर्देशक नहुँदा विभागमा कर्मचारी अभिभावक नभएको महसुस गर्न थालेका छन् । कामकारबाही नरोकिएको तर अभिभावक भएजस्तो नहुने उनीहरुले बताएका छन् ।
‘अभिभावक नहुँदा कर्मचारीले आफूखुसी काम गर्ने हुन्छ । हामी उहाँको प्रतीक्षामा छौं । छिट्टै आउनुहुन्छ होला,’ एक कर्मचारीले भने । नेतृत्वको अभावमा विभागको कामकारबाही ठप्पै नभए पनि महानिर्देशकले गर्ने सबै काम उपमहानिर्देशकले गर्न नमिल्ने उनले बताए ।
‘उपमहानिर्देशकसँग अधिकार नै नहुने भन्ने त होइन । तर अलिअलि हुन्छ । निर्णायक काम त प्रभावित भइहाल्छ नि,’ उनको भनाइ थियो । सोमबार महानिर्देशक आउने सम्भावना रहेको ती कर्मचारी बताउँछन् । महानिर्देशक नभएदेखि कतिपय महŒवपूर्ण कामहरु अलपत्र परेको जनाइएको छ । कुनै पनि संस्थाको कारोबार रोक्का या फुकुवा गर्नेलगायत आर्थिक कारोबारको विषय, कर्मचारीको परिचालन, अन्य निकायसँगको सम्झौता, सम्पादित कार्यको अनुगमन गर्नेलगायत भएका सम्पूर्ण कार्यको निर्णायक भूमिका महानिर्देशकलाई दिइएको हुन्छ । उनको अनुपस्थितिमा महŒवपूर्ण निर्णय र कामकारबाही हुन पाएका छैनन् ।
विभागकाको महानिर्देशकको जिम्मेवारी तोकिएका भुसालले भने मन्त्रालयमा कतिपय कामकारबाही सम्पादन गर्न बाँकी भएकाले विभाग नगएको बताएका छन् । ‘यहाँ महाशाखामा मान्छे नआएर छोडेर हिँड्न मिल्ने अवस्था नभएको हो,’ उनले प्रभावसँग भने । मन्त्रालयका बाँकी कामहरु पनि सक्नुपर्ने भएकाले ती कामहरु पूरा गरेर यही हप्ताभित्र विभाग गइसक्ने भुसालले बताए । आफ्नो कारणले कुनै पनि काम नरोकिएको उनको तर्क छ । ‘सहसचिवसँग समन्वयमा नै काम भइरहेको छ । उहाँलाई फुल फेजमा अधिकार दिएका छौं,’ भुसालले भने ।
मन्त्रालयका दुई सहसचिवलाई विभागमा ल्याउने निर्णय भएसँगै निवर्तमान महानिर्देशक खत्री र निर्देशक गुरुदत्त सुवेदीलाई अन्यत्र सरुवा गरिएको थियो । खत्री मन्त्रालयमा तानिएका छन् भने सुवेदीलाई वैदेशिक रोजगार बोर्डको निर्देशकको जिम्मेवारी दिइएको छ । मन्त्रालयले गरेको जिम्मेवारी हेरफेरसँगै विभागमा उपमहानिर्देशकको पद थप गरिएको छ ।