काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३१ वर्षीय नारायण बस्नेत रहेका छन् ।
नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।