काठमाडौं– वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोजिरहेको नेपालको ध्यान युरोपतर्फ बढी लक्षित हुँदै आएको छ । मलेसिया र खाडी मुलुकमा केन्द्रित वैदेशिक रोजगारलाई अन्यत्र ‘सिफ्ट’ गर्न चाहन्छ सरकार । त्यहीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रयास गरिरहेको देखिन्छ ।
श्रमिकको सुरक्षा, सेवासुविधा र कमाइ मलेसिया तथा खाडी मुलुकको तुलनामा युरोपेली मुलुकमा राम्रो हुने भएकोले त्यसतर्फ सरकार, वैदेशिक रोजगार व्यवसायी र श्रमिकको ध्यान केन्द्रित भएको हो । पछिल्लो समय युरोपेली मुलुकमा जाने क्रम पनि निरन्तर बढिरहेको छ ।
यही सन्दर्भमा दक्षिणपूर्वी युरोपमा अवस्थित मुलुक बोस्निया एण्ड हर्जगोभिना नेपाली कामदार लैजान इच्छुक देखिएको छ । उक्त मुलुकमा श्रमिकको माग बढ्न थालेसँगै बोस्नियाले नेपालसँग श्रम सम्झौताको प्रस्ताव गरेको छ । हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भारतको नयाँदिल्लीस्थित बोस्नियाको दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको थियो ।
यही वैशाख १३ गते श्रम मन्त्रालयमा भएको भेटवार्तामा नेपाली कामदार लैजाने विषयमा छलफल भएको मन्त्रालयले जानकारी गराएको थियो । मिसन उपप्रमुख मेसिनोभिकले बोस्निया नेपाली कामदारका लागि अवसरको नयाँ गन्तव्य हुने भन्दै द्विपक्षीय श्रम सम्झौताका लागि प्रस्ताव अघि सारेका थिए । श्रममन्त्री भण्डारीले श्रम सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
त्यसो त बोस्नियामा अहिले पनि नेपाली श्रमिक गइरहेका छन् । पछिल्लो दुई वर्षयता नेपाली श्रमिकहरु व्यक्तिगत श्रम स्वीकृति लिएर बोस्निया जान थालेको देखिन्छ । कोरोना महामारीपछि आर्थिक वर्ष २०७९÷८० बाट नेपालीहरु रोजगारीका लागि उक्त मुलुक गएको तथ्यांक छ । त्यसपछिका वर्षमा श्रम स्वीकृति लिएर जानेको संख्या बढेको छ ।
आव २०७९÷८० मा व्यक्तिगत श्रम स्वीकृति लिएर जम्मा ११७ जना उक्त मुलुक गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । त्यसअघिको सरकारी तथ्यांकमा त्यहाँ श्रमिक गएको देखिँदैन । त्यसपछि आर्थिक वर्ष २०८०÷८१ मा ३३६ पुरुष र ३९ महिला गरी ३७५ जना गएका छन् । त्यस वर्ष पुनः श्रम स्वीकृति लिएर तीन जना गएको तथ्यांक छ ।
चालु आर्थिक वर्ष २०८१÷८२ मा व्यक्तिगत श्रम स्वीकृति लिएर ३८८ जना बोस्नियामा पुगिसकेका छन् । साउनमा ४३ जना, भदौमा ५७, असोज ४२, कात्तिकमा ४४, मंसिरमा ७३, पुसमा १८, माघमा २१, फागुनमा पाँच र चैतमा ६६ जना बोस्निया गएका हुन् ।
चैत मसान्तसम्म बोस्निया गएकामध्ये १९ जना पुनः श्रम स्वीकृतिका हुन् भने बाँकी नयाँ छन् । चालु आवमा बोस्निया गएकामा ४२ जना महिलासमेत रहेका छन् ।हालसम्मको तथ्यांक हेर्दा बोस्निया जाने नेपाली कामदारको संख्या बर्सेनि बढ्दै गएको छ । नयाँ श्रम गन्तव्य खोजिरहेको नेपालका लागि बोस्निया पनि एउटा गन्तव्य बन्नसक्ने तथ्यांकले देखाउँछ । यद्यपि, हालसम्म व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र गएका छन् । संस्थागत माध्यम अर्थात् म्यानपावर कम्पनीमार्फत गएको तथ्यांक छ्रैन ।
श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार नेपाली कामदारप्रति बोस्निया आकर्षित भएका कारण नै उसले नेपालसँग श्रम सम्झौताको प्रस्ताव गरेको हो । श्रम सम्झौता भए ठूलो संख्यामा नेपालीले त्यहाँ जाने अवसर पाउने ती अधिकारीको भनाइ छ । श्रम सम्झौतापछि नेपाली श्रमिकले थप सुविधा र कानुनी मान्यता पाउने छन् ।
दक्षिणपूर्वी युरोपमा अवस्थित बोस्निया पनि विकासोन्मुख मुलुक हो । उत्पादन, कृषि, पर्यटन, विकास निर्माणजस्ता क्षेत्रमा बढ्दो विदेशी लगानीका कारण यहाँ रोजगारीका अवसर सिर्जना हुँदै गएका छन् । जसले आप्रवासी श्रमिकको माग बढेको जानकारहरु बताउँछन् ।
पछिल्लोे समय मन्त्रालयले युरोपका विभिन्न देशसँग नेपाली श्रमिक लैजाने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता तथा गृहकार्य अगाडि बढाइरहेको जनाएको छ । यस्तो अवस्थामा बोस्निया पनि नेपाली कामदारका लागि नयाँ श्रम गन्तव्यका बन्नसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
बोस्निया एण्ड हर्जगोभिना जान श्रम स्वीकृति लिनेको संख्या
आर्थिक वर्ष |
संख्या |
२०७९/८० |
११७ जना |
२०८०/८१ |
३७५ जना |
२०८१/८२ को चैतसम्म |
३८८ जना |
स्रोतः वैदेशिक रोजगार विभाग