काठमाडौँ – विश्वव्यापी महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ । कोरोना भाइरसकै त्रासका कारण उपत्यकाबाट बाहिरिनेको अहिले घुइँचो लागेको छ । पछिल्लो समयमा विश्वभरीका विभिन्न मुलुकहरुमा ‘लकडाउन’ भएसँगै काठमाडौं उपत्यकाबाट गाउँ जाने यात्रुको संख्या पनि बढ्न थालेको छ । सरकारले बुधबार कोरोनासँग लड्न शैक्षिक संस्था बन्द गर्नेसहितका विभिन्न निर्णय लिएपछि उपत्यका छाडेर गाउँ फर्कनेहरुको घुइँचो लागेको हो । कोरोना भाइसको संक्रमण रोक्नका लागि सरकारले शैक्षिक संस्थाहरु चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । उपत्यकाको कोटेश्वर, नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड थियो । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यकाबाट बाहिरिने क्रम बढेको महाशाखाले जनाएको छ ।