कुरा केही दिन अगाडीको हो, म काम बिशेषले नेपालगन्जको यातायात ब्यवस्था कार्यालय गएको थिए । म गएको समयमा यातायात ब्यवस्था कार्यालय नेपालगन्जले सवारी साधन अनुमति पत्रको लागि आवेदन खुल्ला गरेको रहेछ कार्यालयको बाहिर तिर मेला लागे जस्तै मानिसहरुको भिँड जम्मा भएको थियो ।
सबै ब्यक्तिहरु आ,आफ्नो काममा यताउता दोडधुपमा नै थिए मैले केही कुरा बुझ्नु पर्ने भएकाले म कार्यालयमा गए अनि बुझ्ने काम भयो । दिउसोको समय सेवाग्राहीहरुको भिँडले कार्यालय आसपासका पसलहरुमा पनि राम्रै ब्यापार भईरहेको थियो । म कार्यालयमा हुँदै गर्दा मेरा एक जना साथीसँग भेट भएका कारण चिया पिएर फर्किने निधो गरें र नजिकैको चिया पसलमा बसियो । हामीले चिया पिउँदै गर्दा सो कार्यालय छेउका सटरहरुमा राम्रै ब्यवसाय भईरहेको रहेछ ।
लाईसेन्सको फर्म भर्दा निरोगिताको प्रमाण पत्र, रगत परिक्षण लगायतका कागजातहरु पेश गर्नुपर्ने हुन्छ जुन प्रमाणपत्र बिना चेकजाँच कार्यालय परिसरमा नै मिनेट मै उपलब्ध भईरहेको पाईयो । त्यहाँ निजि कम्पनीहरुले सो काम गरिरहेको देखियो । निरोगिताको प्रमाण पत्र भन्दै केही पनि चेक जाँच नगरेरै पैसा लिदै हस्ताक्षर गर्दै प्रमाणपत्र बितरण गरिरहेको मैले देखें । बिना चेकजाँच डाक्टरको हस्ताक्षरित प्रमाणपत्र भकाभक बितरण गरिएको थियो । कुनै पनि डाक्टरले अस्पताल तथा निजि क्लिनिक बाहिर चेकजाँच नै बिना कसैको स्वास्थ्य ठिक छ भनेर प्रमाणित गर्नु कत्तिको जायज कुरो हो ?
यसरी पैसा असुल्ने बाहानामा सरकारी कार्यालय यातायात ब्यवस्था कार्यालय बाहिर यस्तो कार्य भईरहेको टुलुटुलु हेरी रहनु सम्बन्धित सरोकारवालाहरुका लागि चुनौती हो । यस्ता कार्यलाई स्वयं यातायात व्यवस्था कार्यालयबाट नैं प्रशय दिनु राम्रो होईन । कुनै पनि ब्यत्तिले आफ्ना अधिकारको प्रयोग नीति नियमको परिधिभित्र रहेर गर्नु पर्छ जस्तो लाग्छ अधिकारको दुरुपयोग गर्ने जो कोहीलाई कार्वाही गर्न जरुरी छ ।
- एक सेवाग्राही