नवलपरासी पश्चिम– लकडाउनको मौका छोपी खुकुरी देखाएर लुट्ने प्रयास गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–४ नर्सही नारायणी नदीको ठोकर नं. १२ मा हातहतियारसहित दुई जना पक्राउ परेका हुन् ।
शुक्रबार ९ बजे राति नर्सहीस्थित ठोकर संख्या नं. १२ नजिकबाट सुस्ता ४ नर्सही जर्लैया बस्ने अन्दाजी ४७ वर्षीय आसबहादुर गुरुङ र सोही ठाउँ बस्ने अन्दाजी ४६ वर्षीय नरेश गुरुङ पक्राउ परेका छन् ।
कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु १ त ५८३० नम्बरको इन्धन बोकेको पिकअपलाई रोकेर उनीहरुले चालकलाई खुकुरी देखाई धम्काएपछि चालकले स्थानीय नर्सही प्रहरीलाई खबर गरेका थिए । नर्सही प्रहरीले इलाका प्रहरीलाई खबर गरेपछि इलाका प्रहरीको टोलीले तुरुन्तै घटनास्थलमा पुगेर खोज तलास गरी घटनामा संलग्न गुरुङद्वयलाई खुकुरीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले प्रभाव दैनिकलाई जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालयले नियत्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुवै जनाले आफ्नो मुख कालोपट्टीले बाँधेका थिए भनेर स्थानीय अशोक ठाकुरले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६ ०८:३४