जाजरकोट, १६ चैत । वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु धमाधम चोर बाटोबाट फर्कँदा स्वास्थ्य परीक्षण हुन सकेको छैन । गाउँगाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा समेत कसैले नमानेको स्थानीय सरकारले बताएका छन् ।
बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भएपनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको संख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।
प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले लगातार गाउँगाउँमा माइकिङ गरीरहेको भएपनि कसैले वास्ता गर्दैनन् । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवी, देवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उनको भनाइ छ । नलगाड नगरपालिकाको एैरारीमा संक्रमण लाग्न नदिन तीन वटा बोकाको बलि दिइएको छ ।
बारेकोट गाँउपालिका–२ मा देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाइएका वडाध्यक्ष द्वारिका बुढाले बताए । अझै आफ्ना जहान केटाकेटी बचाइदिन देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उनले बताए ।
छिमेककी मुलुक भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफुलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाईसँग घुलमिल गरिरहेका छन् । संक्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्यांक राखेको छैन । ठूलो संख्यामा भारतबाट मजदुरहरु फर्के पनि केही सीमित संख्यालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । घरको मूलढोका खन्दा कोइला भेटिएको भन्दै तेलमा राखे मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले मूलढोका खन्ने गरेको पाइएको छ ।