काठमाडौं– सरकारले दुईपटक गरी घोषणा गरेको लकडाउनको समयावधि १४ दिन बढाएकामा अब यो अवधि लम्ब्याउने तयारी गरेको समाचार सूत्रले दाबी गरेको छ । सरकारले पहिलोपल्ट ११ चैतदेखि १८ गते र १७ गते बसेको उच्चस्तरीय समिति बैठकले २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियो ।सूत्रका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनलाई कम्तीमा चैतसम्म लम्ब्याउने तयारी गरेको हो । यसैबीच, बिहीबार बसेको उच्चस्तरीय समितिको १६औँ बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पारे पनि चैतसम्म लकडाउन कायमै राख्ने तयारी भइरहेको बताइन्छ ।
त्यसो त सरकारले नै १५ अप्रिल अर्थात् ३ बैशाखसम्म अन्तर्राष्ट्रिय उडान रोकिसकेको छ । सूत्रका अनुसार यो अवधिसम्म लकडाउन कायमै रहन सक्ने सम्भावना छ ।
बिहीबारको बैठकले चिकित्सा सामग्री खरिद गरेर परीक्षणको दायरा फराकिलो बनाउने र कन्ट्याक ट्रेसिङ गरेपछि मुलुकभित्र केही खुकुलो बनाउने निर्णय गरेको थियो । सरकारले उपत्यका बाहिर पनि ल्याब स्थापना गरे पनि चीनबाट खरिद गरेर ल्याइएको किट्सको गुणस्तरीयतामै चिकित्सकले शंका गरेपछि परीक्षणको दायरा बढ्न सकेको छैन ।
स्वास्थ्य सेवा विभागले खरिद गरेको चिकित्सा सामग्री खरिदमा विवाद आएपछि अहिले भने सरकारले सो कामका लागि नेपाली सेनालाई दिने र त्यसको समन्वय स्वास्थ्य मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।